२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

सहकारीमार्फत रोजगारी सिर्जना गर्ने अभियानमा छौं : नगरप्रमुख श्रेष्ठ

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ असार २२ गते २०:३८
सहकारीमार्फत रोजगारी सिर्जना गर्ने अभियानमा छौं : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सहकारी प्रणालीलाई स्थानीय सरकारको आर्थिक र सामाजिक विकासको मेरुदण्डको रूपमा अघि बढाउने बताएका छन् । 

सन्धिखर्क नगरपालिका अन्तर्गत महिला, बालबालिका तथा समाजकल्याण शाखाले आयोजना गरेको दुई दिने महिला सहकारी सदस्यहरूको क्षमता विकास गोष्ठीको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले गाउँ–टोलमा रहेका सहकारी संस्था विशेषगरी महिला सहकारीलाई बलियो बनाएर समृद्धिको बाटो समाउनुपर्ने बताए ।

‘सहकारीबिना नगरले आर्थिक प्रगति गर्न सक्दैन,’ श्रेष्ठले भने,‘आर्थिक विकासका लागि सहकारीलाई बलियो खम्बा बनाउनुपर्छ । नगरपालिकाले सहकारीमैत्री नीति तथा स्थानीय कानुन तयार गरेर महिला उद्यमशीलता र स्वरोजगारलाई प्रोत्साहन गरिरहेको छ ।’

श्रेष्ठले सहकारीको माध्यमबाट कृषि, उद्यम, स्वरोजगार सिर्जना र गरिबी निवारणमा नगरपालिका लागिरहेको जनाए । उनले गैरकानुनी गतिविधिमा संलग्न सहकारी संस्था खारेज गरिने चेतावनी पनि दिए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले केही सहकारी संस्थाको गलत क्रियाकलापका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको भन्दै सुधार र अनुशासनको आवश्यकता औंल्याइन् । ‘सहकारीले लिने अब्बल नीति र अनुशासनका माध्यमबाट गाउँ–टोलमा बेरोजगारी समस्या समाधानमा टेवा पुर्याउन सक्छ,’ उनले भनिन् । 

यस्तै, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले सहकारीले स्थानीय अर्थतन्त्रलाई गति दिएको तर अझै पनि धेरै सहकारी शहर केन्द्रित रहेको उल्लेख गर्दै सबै सहकारी संस्था अनुशासित र पारदर्शी ढंगले सञ्चालन हुनुपर्ने बताए । स्थानीय सरकारको मातहतमा रहेका सहकारी संस्थाहरूले सामाजिक उत्तरदायित्वअनुसार काम नगरेको खण्डमा दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाइने पनि जानकारी दिए ।

कार्यक्रममा ६० भन्दा बढी महिला सहकारीकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वरिष्ठ शाखा अधिकृत मञ्जु खनाल प्रमुख अतिथि थिइन् भने तुलसा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । 

महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख बेलकुमारी परियारका अनुसार कार्यक्रम अन्तर्गत वित्तीय समावेशीकरण, युवा तथा महिला सशक्तिकरण, र वित्तीय साक्षरता जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise