प्यूठान : प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेका छन् ।
उपाध्यक्ष पोखरेलले प्रत्येक सामुदायिक विद्यालयबाट उत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई नगद ४ हजार रुपैयाँ, सम्मानपत्र र खादा प्रदान गरी सम्मान गरेका हुन् । सम्मानित हुने विद्यार्थीहरूमा सत्य माध्यमिक विद्यालय वडा नं. ७ का सुजल जिसी र सुमन महरा तथा प्रभात माध्यमिक विद्यालय वडा नं. ३, झिमरुककी अञ्जु एम.सी.रहेका छन् ।
कार्यक्रममा बोल्दै पोखरेलले आफू शिक्षा, पत्रकारिता र राजनीति क्षेत्र हुँदै गाउँपालिका उपाध्यक्षको भूमिकामा आइपुगेको बताउँदै विद्यार्थीलाई उच्च शिक्षाको प्रेरणा दिन सम्मान कार्यक्रमको सुरुवात गरिएको बताए । उनले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई पढाइबाट वञ्चित हुन नदिन छात्रवृत्ति दिने नीतिको तयारी भइरहेको जानकारी पनि दिए ।
सत्य माध्यमिक विद्यालयका शिक्षक हेमन्त पोखरेलले उपाध्यक्ष पोखरेलले विद्यार्थीलाई प्रेरणा दिने नयाँ परम्पराको सुरुवात गरेको भन्दै धन्यवाद व्यक्त गरे । सम्मानित विद्यार्थी अञ्जु एम.सी.ले यस सम्मानले आफूलाई अझ मेहनत गर्न प्रेरणा दिएको प्रतिक्रिया दिइन् ।
उपाध्यक्ष पोखरेल नेपाली कांग्रेस प्यूठानका सहसचिव तथा पूर्व पत्रकारसमेत हुन् । उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् ।