काठमाडौँ : ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौँका विभिन्न पाँचतारे होटलमा झन्डै तीन हजार पर्यटक मानसरोवर यात्राको प्रतीक्षामा रहेको व्यवसायीहरूको भनाइ छ ।
ओझा होलिडे टुर्स एन्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक रमेश ओझाले ‘सिजन’कै बेला भिसा भेरिफिकेसनसम्बन्धी नयाँ नीतिले पर्यटन व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने गरेकाले दुई हजारभन्दा बढी धार्मिक पर्यटक मानसरोवर जान पाएका छैनन् ।
भिसा भेरिफिकेसनले कैलाश मानसरोवर यात्रा विलम्ब भइरहेका बेला हालै रसुवामा आएको बाढीले सडक बाटो अवरुद्ध हुँदा पर्यटक थप समस्यामा परेका छन् । धेरैजसो पर्यटक रसुवागढीबाट केरुङ रुट भएर मानसरोवर पुग्ने गरेकाले समस्या भएको हो । यो मार्ग अवरुद्ध हुँदा भारतीय पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भएको छ । अधिकांश भारतीय नागरिक यो ‘रुट’ भएर मानसरोवर जाने गरेका छन् । कैलाश मानसरोवरमा विभिन्न देशमा रहेका भारतीय मूलका नागरिक हवाई यातायातको माध्यमबाट काठमाडौँ–हुम्लाको सिमिकोट र काठमाडौँबाट चीनको ल्हासा भएर मानसरोवर पुग्ने गरेका छन् ।
काठमाडौँबाट केरुङ रुट भएर पनि कैलाश मानसरोवर पुग्न सकिन्छ । यसका लागि काठमाडौँबाट रसुवागढी हुँदै केरुङ पुग्नुपर्छ । काठमाडौँबाट नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर जान सकिन्छ । ओझा होलिडेज, रिचा ट्राभल्स एन्ड टुर्स, इको ट्रेक, हेरिटेज टुर्स एन्ड ट्राभल, सनि ट्राभल, ट्रेकर सोसाइटीलगायत आधा दर्जन बढी कम्पनीले सर्वाधिक रूपमा कैलाश मानसरोवर टुर गराउँछन् ।
भारतको मुम्बईस्थित लिआजर पोर्टका सञ्चालक नमराज जोशीले ३९ जनाको समूह लिएर १० दिनदेखि काठमाडौँमा भिसा कुरिरहनुपरेको दुखेसो पोखे। दूषित प्रिन्सेस काठमाडौँमा बसिरहेका उनीहरू चाँडै भिसा आउने प्रतीक्षामा छन् । सिजनमै कैलाश मानसरोवर यात्रामा व्यवधान आउँदा समस्या भएको व्यवसायीले गुनासो गर्दै आएका छन् ।
प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही असार २२ गतेको बैठकमा पनि सांसदहरूले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा (भिसा) प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानसरोवर जाने पर्यटकहरूका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कैलाश मानसरोवरका लागि विदेशीले दुई हजार ५०० देखि तीन हजार डलरमा प्याकेज खरिद गरेका हुन्छन् । उनीहरूले दुई हजार हाराहारी डलर हवाई टिकटमा आफैँ खर्च गर्नुपर्छ । यसरी पाँचदेखि सात हजार डलर विदेशीले मानसरोवर जान खर्च गर्नुपर्छ ।
“विदेशीलाई ल्हासाबाट प्रवेश अनुमति आउँछ, पासपोर्ट दिएपछि तीन दिनमा भिसा आउने गरेको थियो । हाल विदेशी आइसकेपछि चिनियाँ दूतावासले भिसा भेरिफिकेसन गर्ने गरेका छन् । भिसा विलम्ब हुँदा पाँचदेखि १० रातको बढी रकम होटललाई टुर अपरेटर कम्पनी आफैँले तिर्नुपरेको छ । आफ्नो कमिसनभन्दा पनि उल्टै बढी पैसा खर्च भएको र अनावश्यक तनाव र झन्झट पनि बेहोर्नु परिरहेको छ”, व्यवसायीले भन्ने गरेका छन् ।
रसुवा नाका पहिरोले अवरुद्ध भएपछि भिसा पाएकाहरूलाई नेपालगञ्ज, हुम्ला हुँदै गन्तव्यमा पुर्याउनका लागि पहल भइरहेको व्यवसायीले बताएका छन् । बसाइँ लम्बिँदा पर्यटक बेखर्ची हुने र कतिपय फर्किन अवस्थामा रहेका भन्दै व्यवसायीले जानकारी दिएका छन् ।
नेपाल भएर तिब्बत, मानसरोवर, ल्हासा जाने पर्यटक समग्र पर्यटनको झन्डै २० प्रतिशत रहेको यस क्षेत्रमा कार्यरत कम्पनीले बताउने गरेका छन् । यसरी वार्षिक २० देखि २५ हजार पर्यटक मानसरोवर जाने गरेका छन् ।
जुन २५ देखि जुलाई नौ तारिखसम्म भिसा भेरिफिकेसनका नाममा पर्यटक होटेलमै बसिरहनुपरेको र आर्थिक भार नेपाली व्यवसायीमाथि थुप्रिएको गुनासो छ । अमेरिकाबाट आएका भारतीय मूलका नागरिक १० दिनपछि भिसा प्रक्रिया पुर्याएर बुधबार ल्हासा पुगेको एक कम्पनीले जनाएको छ । “समयमा भिसा भेरिफिकेसन नहुँदा सबैभन्दा मारमा हामी व्यवसायी परेका छौँ । टुर चलाएर पाउने कमिसनभन्दा बढी खर्च गरेर पर्यटक व्यवस्थापन गर्नुपरेको छ”, कैलाश यात्रा गराउने सोहम जर्निस प्रालिका प्रबन्ध निर्देशक सूर्य पाठकले गुनासो सुनाए ।
एक सिजनमा तीन हजार पर्यटक पठाउने गरेको स्मरण गर्दै व्यवसायी पाठकले यस वर्ष मुस्किलले एक हजार पर्यटक पुग्ने विश्वास व्यक्त गरे । उक्त कम्पनीले सन् २०१९ मा झन्डै चार हजार जनालाई मानसरोवर यात्रा गराएको थियो ।
एसोसियसन अफ कैलाश टुर अपरेटर्स नेपालमा आबद्ध ३० भन्दा बढी कम्पनी छन् । मेदेखि सेप्टेम्बरसम्म करिब पाँच महिना कैलाश मानसरोवर जाने सिजन हो । सो संस्थाले जनाएअनुसार वार्षिक २५ हजारसम्म पर्यटक नेपाल भएर मानसरोवर जाने गरेका छन् । त्यहाँ पुग्न नेपालगञ्ज–सिमिकोट–हिल्सा सबभन्दा नजिकको रुट पर्ने हुनाले हरेक वर्ष उल्लेख्य सङ्ख्याका पर्यटक यो मार्ग भएर गन्तव्यमा पुग्छन् ।
मानसरोवार जान भारतीय नागरिकलाई रु. अढाई लाखदेखि तीन लाख र गैरआवासीय भारतीय नागरिकलाई कम्तीमा रु. १० लाख लाग्ने टुर कम्पनीहरूले जनाएका छन् । कैलाश मानसरोवरमा भारतीय मूलका, तर विश्वका विकसित देशहरू अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलियामा बस्ने गैरआवासीय भारतीयहरू बढिजसो जाने गरेका छन् ।