काठमाडौँ : मधेश केन्द्रित सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिकुल नहुने गरी वर्तमान परिस्थितिमा नयाँ सरकार गठन गरी मुलुकमा निकास दिनुपर्ने बताएको छ ।
केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले मोर्चाको तर्फबाट विज्ञप्ति जारी गर्दै युवा पुस्ताका मागहरूलाई सम्बोधन हुने गरी संविधानभित्रबाटै निकास खोज्नुपर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको वर्तमान संविधानप्रति मोर्चाको गम्भीर असन्तुष्टि र विमति भए तापनि सार्वभौमसत्ता सम्पन्न जनताको जन निर्वाचित प्रतिनिधि संस्था सङ्घीय व्यवस्थापिका संसद् नै भएको हुँदा संसद् र संविधान भित्रैबाट सबै समस्याहरूको समाधान सम्भव हुने भएकोले असंवैधानिक बाटो, अतिवादी चिन्तन र विचार तथा प्रतिगमनकारी चलखेल र षडयन्त्रबाट सतर्क र सजग रहनु पर्दछ ।’
वर्तमान संविधान अनुसार नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको भन्दै संविधान र संसद्को प्रतिकुल हुने गरी गरिएको कार्य मोर्चालाई स्वीकार्य नहुने उल्लेख छ ।