२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या

shivam cement
मध्यान्ह
२०८२ असार २६ गते १२:४०
वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या

पर्साः वीरगञ्ज महानगरभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी तथा सडकमा हिँड्ने बटुवाहरूलाई समस्या हुँदै आएको छ ।

महानगरभित्र करिब आधा दर्जन स्थानमा मात्रै सार्वजनिक शौचालय छन् । भएका सीमित शौचालयको पनि शुल्क अधिकतम हुँदा सर्वसाधारणलाई समस्या हुँदै आएको हो । अधिकांशले सार्वजनिक शौचालयभन्दा पनि खुला स्थानमा शौच गर्दै आएका छन् ।

वीरगञ्जको घण्टा घरचोकसँगै सार्वजनिक शौचालय छ । पैसा नभएको बाहाना गरेर अधिकांश पुरुषहरू भने खुला रूपमा जथाभावी शौच गर्ने प्रवृत्ति देखिएको छ । घण्टाघरको सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको रु १५ र नुहाउनेका लागि रु ४० तोकिए पनि सर्वसाधारण पैसाको अभाव देखाउँदै प्रयोग गर्दैनन् । 

वीरगञ्जको बिपी उद्यानस्थित खुला हाट व्यापारमा व्यापार गर्ने र सरसमान खरिद गर्न आउने पुरुष ग्राहकहरू खुला शौच गर्दै आइरहेका प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले बताए । 

मिनाबजारमा अवस्थित नेपाल टेलिकमको महसुल काउन्टरको पर्खालमा पनि खुला शौच गर्नेको घुइँचो देखिन्छ । अहिलेसम्म पनि महानगर प्रहरीले सडक छेउछाउमा शौच गर्नेलाई सचेतना जगाउने तथा बानी सुधार्ने प्रयास गरेको छैन । 

प्रतिष्ठानका अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पर्याप्त मात्रामा सार्वजनिक तथा घुम्ती शौचालय नहुँदा सडक छेउछाउमा खुला रूपमा पिसाब फेर्ने प्रवृत्ति अझैसम्म नरोकिएको गुनासो गरे । ‘यहाँ जहाँपयो त्यही थुक्ने र पिसाब फेर्ने बानी अधिकांशमा छ’, उनले भने, ‘यस्ता गतिविधिले वीरगञ्जलाई फोहर र दुर्गन्धित बनाउँदै आइरहेको छ ।’ अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पटकपटक सुलभ र घुम्ती शौचालय व्यवस्थापनको लागि माग राख्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरे ।

प्रतिष्ठानले वीरगञ्ज महानगर प्रमुखमा राजेशमान सिंह निर्वाचित भएर आएपछि पनि विसं २०७९ जेठ १५ वीरगञ्जका सार्वजनिक सरोकारका २३ बुँदे सुझावसहित सुलभ र घुम्ती शौचालय आवश्यकता भएको भन्दै ध्यानाकर्षण गराएको थियो । 

‘महानगरमा सार्वजनिक शौचालय पर्याप्त नहुँदा खुलमखुला शौच गरिरहेको दृश्य देख्नुपर्दा लाजैमर्दो हुन्छ’, उनले भने, ‘यहाँ सुलभ शौचालय, घुम्ती शौचालय तुरुन्त व्यवस्थापन तथा त्यसको दैनिक यथोचित सरसफाई गर्न आवश्यक भइसकेको छ ।’ 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले विगत केही वर्षअघि वीरगञ्जलाई खुला दिशामुक्त महानगर घोषणा गरेपनि कार्यान्वयन फितलो रहेको गुनासो गरे । ‘पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा पनि खुला ठाउँमा शौच गरिरहेको दृश्य देखिन्छ’, उनले भने, ‘सार्वजनिक शौचालय बनाएर सो प्रवृत्तिको अन्त्य गर्न जरुरी छ ।’ 

महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरमा करिब आधा दर्जन बढी स्थानमा सार्वजनिक शौचालय रहेको जानकारी दिए । उनका अनुसार घण्टाघर, पुरानो बसपार्क, नयाँ बसपार्क, लक्ष्मणवाचोकलगायत स्थानमा शौचालय छन् । ‘यहाँको पावरहाउस चोकमा सार्वजनिक शौचालय निर्माण भइरहेको छ’, उनले भने । रासस 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise