२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मधेशमा परीक्षाको प्रश्नपत्र कालोपाटीमा, उतरपुस्तिका विद्यार्थीको जिम्मा

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २९ गते २२:५९
मधेशमा परीक्षाको प्रश्नपत्र कालोपाटीमा, उतरपुस्तिका विद्यार्थीको जिम्मा

रौतहट : मधेश प्रदेशको अधिकांश पालिकाका सबै विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । केही पालिकाले परीक्षा सञ्चालन गर्नको लागि विद्यालयहरुलाई रकम विनियोजन गरेको भएपनि अधिकांश विद्यालयले परीक्षाको औपचारिक पूरा गरिरहेका छन् । 

रौतहटका केही पालिकाले प्रथम त्रैमासिक परीक्षाको समय तालिका म्यासेन्जरमा उपलब्ध गराएर समयमै परीक्षा सम्पन्न गर्न ह्वीप जारी गरेका छन् । नगरपालिकाले निःशुल्क परीक्षा लिन ह्वीप जारी गरेर न कापी उपलब्ध गराउँछन्, न त प्रश्नपत्र नै । सक्षम विद्यालयहरुले प्रश्नपत्र उपलब्ध गराउने र विद्यार्थीलाई कापी दिएर परीक्षा लिएपनि अधिकांश विद्यालयले भने केवल औपचारिकता पूरा गरेका छन् ।

कक्षाका सम्पूर्ण विद्यार्थीलाई आफूले घरबाटै लिएर आएको पानामा उत्तर लेख्नुपर्ने र शिक्षकले घरबाट बनाएर ल्याएको प्रश्नलाई बोर्डमा लेखिदिने गरेका छन् । शिक्षकले बोर्डमा लेखेको प्रश्नपत्रको भरमा परीक्षार्थीले उत्तर दिँदा दुई घण्टाको परीक्षा आधा घण्टामै सकिने र एकले अर्काको कापी हेरेर सार्न सकिने अवस्था छ । पालिकाहरुले विद्यालयलाई विद्यार्थीसँग परीक्षा शुल्क पनि उठाउन नदिने र प्रश्नपत्र तथा कापी केही पनि उपलब्ध नगराउने भएपछि परीक्षाकै बिजोग भएको देखिएको छ । 

पालिका र सरकार दुवैले परीक्षाको नाममा विद्यार्थीलाई ठग्ने बाहेक केही नगरेको बुद्धिजीवीहरुले आरोप लगाउने गरेका छन् । सरकारले निःशुल्क शिक्षा भने पनि माध्यमिक शिक्षा परीक्षाको परीक्षा शुल्क विद्यार्थीसँग असुल्ने गरेको छ, तर विद्यालयले लिने परीक्षाको लागि कुनै पनि शुल्क लिन नपाउने निर्देशन जारी गरेर कक्षा ९ सम्मको परीक्षाको व्यवस्थापन  र सञ्चालनमा हस्तक्षेप गरेको छ । अधिकांश विद्यालयसँग कुनै आन्तरिक स्रोत नभएको अवस्थामा एक वर्षमा तीन वटा परीक्षा सञ्चालन र व्यवस्थापन गर्न कुनै पनि हालतमा नसकिने भएकोले परीक्षाको औपचारिकता मात्र पूरा भइरहेको शिक्षकहरुको भनाइ छ । 

परीक्षामा खटिने कर्मचारी, परीक्षामा लाग्ने साधन, कापी परीक्षण, प्रश्नपत्र र कापी आदिमा लाग्ने न्यूनतम खर्च न त पालिकाले दिएको छ, न त परीक्षार्थीसँग नै उठाउन दिइएको छ । अधिकांश पालिकाले सोझै निर्देशन दिएर प्रथम त्रैमासिक परीक्षा सञ्चालन गराएकाले विद्यालयहरुले पनि परीक्षाको औपचारिकता पूरा गरिरहेको पाइएको छ । 

असार मसान्तसँगै मधेश प्रदेशका अधिकांश विद्यालयहरु एक महिनाको लागि बन्द हुँदै छन् । एक वर्षमा ४५ दिन विद्यालय बन्द रहने नियमानुसार एक महिनाको वर्षे बिदा अधिकांश पालिकाहरुले दिँदै छन् । रौतहटको गौर नगरपालिकाले साउन १ देखि भदौ २ गतेसम्म पालिकाका सबै विद्यालयमा गर्मी तथा वर्षे बिदा दिइने सूचना जारी गरिसकेको छ । भदौ ४ गतेदेखि नियमित रुपमा पठनपाठन हुने सूचना सबैको जानकारीको लागि जारी गरिसकेको देखिएको छ । भदौ ३ गते रक्षा बन्धन परेको हुनाले मधेश प्रदेशका अधिकांश विद्यालय भदौ ४ गतेदेखि सञ्चालन हुने देखिएको छ । मधेशका सामुदायिक विद्यालयसँगै अधिकांश संस्थागत विद्यालयले पनि प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिरहेको पाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise