
काठमाडौं : सामुदायिक विकासका नाममा बाहिरबाट योजना र समाधान थोपर्नुभन्दा समुदायभित्रकै ज्ञान, अनुभव र क्षमतालाई परिचालन गर्नुपर्नेमा जोड दिइएको छ । समुदायको नेतृत्व, सामूहिक सिकाइ र नागरिक सहभागिताबाट मात्रै दिगो सामाजिक परिवर्तन सम्भव हुने वक्ताहरूले बताएका छन् ।
नेपालमा २८ वर्षभन्दा लामो सामुदायिक विकास अभ्यासका अनुभव समेटिएको ‘रूपान्तरणकारी सामुदायिक विकास : नेपालका फ्रेरेवादी र मानवतावादी अभ्यासबाट सिकाइ’ पुस्तक विमोचन कार्यक्रममा उनीहरूले विकासका योजना समुदायको आवश्यकता र अनुभवमा आधारित हुनुपर्ने बताएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले पुस्तक विमोचन गरेका थिए । पुस्तकका लेखक डा. पिटर वेस्टोबी, अमरबहादुर ऐर, रचेल डोनोभान र डा. मीना सिंह हुन् ।
कार्यक्रममा राजदूत अन्स्र्टले सन् १९९७ मा पश्चिम नेपालमा स्थापना भएको सहकर्मी समाजले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका करिब दुई लाख मानिससँग प्रत्यक्ष रूपमा काम गरिरहेको जानकारी दिए । संस्थासँग दुई हजार सात सयभन्दा बढी सामुदायिक समूह आबद्ध रहेको उनले बताए ।
उनले समुदायलाई सहयोगको निष्क्रिय प्राप्तकर्ताका रूपमा नभई आफ्नै परिवर्तनको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै दिगो परिवर्तन समुदायभित्रैबाट विकास हुनुपर्ने बताए ।
पुस्तकका लेखक डा. पिटर वेस्टोबीले बेरोजगारी, शिक्षाबाट वञ्चित हुनु र सामाजिक बहिष्करणजस्ता समस्यालाई व्यक्तिगत नभई सामूहिक समस्याका रूपमा बुझ्नुपर्ने बताए । समान समस्या भोगिरहेका मानिसबीच अनुभव आदानप्रदान र छलफल हुन थालेपछि उनीहरू संगठित भएर परिवर्तनका लागि अघि बढ्ने उनको भनाइ थियो ।
त्यस्तै, लेखिका डा. मीना सिंहले सामुदायिक विकासमा सहकार्य र साझा जवाफदेहिताको महत्त्व औंल्याइन् ।
नेपाल महिला एकता समाजकी अध्यक्ष सावित्री थापाले भूमिहीनताको समस्या जग्गाको स्वामित्वमा मात्र सीमित नरहेको बताइन् । यो विषय आधारभूत सेवा, नागरिकता, सामाजिक पहिचान र सुरक्षित जीवनसँग समेत जोडिएको उनको भनाइ थियो । उनले सरकारी तथ्यांकमा करिब १३ लाख भूमिहीनको विवरण दर्ता भएको जानकारी दिइन् ।
सहकर्मी समाजका कार्यकारी निर्देशक अमरबहादुर ऐरले समुदायले आफ्ना समस्या र सवाललाई आत्मसात् गरेपछि मात्रै दिगो परिवर्तन सम्भव हुने बताए । सरकारलाई जवाफदेही बनाउन नागरिक सचेत, शिक्षित र संगठित हुनुपर्नेमा पनि उनले जोड दिए ।
राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले भूमि अधिकार आन्दोलनलाई बलियो बनाउन समुदायको आफ्नै संगठन, आर्थिक स्रोत र सामूहिक परिचालन आवश्यक रहेको बताए । आन्दोलनमा समुदायको स्वामित्व र आर्थिक पारदर्शिता महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
कार्यक्रममा सामुदायिक शिक्षकहरूले आफ्ना अनुभव, संघर्ष र व्यक्तिगत यात्रालाई कलामार्फत प्रस्तुत गरेका कलाकृतिको प्रदर्शनीसमेत गरिएको थियो । सहकर्मी समाजले आयोजना गरेको कार्यक्रममा नेपालको सामुदायिक विकास अभ्यास र समुदायको नेतृत्वमा हुने सामाजिक रूपान्तरणका अनुभव प्रस्तुत गरिएको थियो ।