अर्घाखाँची : छत्रदेव गाउँपालिका अर्घाखाँचीले तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वर्षा सञ्चार मिडिया नेटवर्क अर्घाखाँचीको समन्वयमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, युवा स्वरोजगार, कृषि र रोजगारी लगायतका विषयमा सरोकारवालाहरूले आफ्ना धारणा सार्वजनिक रूपमा राखेका थिए ।
गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई स्थानीय सरकारको उत्तरदायित्व निर्वाह गर्ने प्रभावकारी माध्यमका रूपमा लिएको बताउँदै छत्रदेवबासीले उठाएका मुद्दाहरूलाई आत्मसात् गरेर विकास प्रक्रियालाई अझ तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि र कर्मचारीले जनताबाट प्राप्त सुझावहरूलाई ग्रहण गर्दै अझ प्रभावकारी ढंगले काम गर्ने बताएका थिए ।
श्रेष्ठले छत्रदेव गाउँपालिकामा सडक, कृषि, शिक्षा, पशुपालन, सिँचाइ, विद्युत् र खानेपानीतर्फको प्रगतिबारे जानकारी दिँदै संघीय, प्रदेश र स्थानीय सरकारबाट प्राप्त बजेटलाई उचित रूपमा विकास निर्माणमा प्रयोग गरिएको बताए । उनका अनुसार वडा नं. १ देखि ८ सम्म सडकहरू निर्माण सम्पन्न गरिनुका साथै केही सडकहरू कालोपत्रे भइसकेका छन्, भवन निर्माणको काम भइरहेको छ भने शैक्षिक गतिविधि प्रभावकारी रूपमा अगाडि बढेको छ । उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यविधिहरू कार्यान्वयनमा रहेको पनि जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष मनि पन्थीले महिलाहरू र युवालाई रोजगारीसँग जोड्ने प्रयासलाई प्राथमिकतामा राखिएका बताइन् । व्यवहारिक शिक्षाको प्रवद्र्धनमा गाउँपालिकाले लगानी गर्दै आएको उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले लागुऔषधको समस्या, आत्महत्याका घटनामा वृद्धि र अनलाइन ठगीलाई देशव्यापी चुनौतीका रूपमा उल्लेख गर्दै छत्रदेव गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा जनचेतना अभिवृद्धिमा थप ध्यान दिइने जानकारी दिए ।
नेपाली कांग्रेस गाउँपालिका सभापति प्रकाशराज पन्थले थोरै स्रोत साधनबाट पनि प्रभावकारी काम भएको भन्दै सराहना गरे ।
एमालेकी गाउँपालिका उपाध्यक्ष शान्ता थापाले अहिले गाउँपालिकामा सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै नागरिकले पहिले जस्तो बारम्बार कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको महसुस भएको बताइन् ।
नेकपा माओवादीका नेता रामलाल पराजुलीले पटक–पटक हुने विद्युत् कटौतीले जनजीवनमा असर पारेको भन्दै समाधानतर्फ ध्यान दिन आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शंकर भुसालले विकास निर्माणका कामसँगै बादर र बँदेल नियन्त्रणमा पनि गाउँपालिकाले ध्यान दिनुपर्ने सुझाव दिए ।
गाउँपालिकाका प्रवक्ता कमल पौडेलले विकासका कामलाई गुणस्तरीय बनाउन स्थानीय नागरिकको सहभागिता र भूमिका महत्वपूर्ण हुने धारणा राखे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नं. १ देखि ८ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका, सहकारी प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, मानव अधिकारकर्मी, गाउँपालिकाका शाखा प्रमुखलगायतको उपस्थित रहेको थियो ।