काठमाडौं : बाल श्रमिकको संख्या घट्दै गएपनि शहरी क्षेत्रमा बढ्दै गएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय बालश्रम निवारण प्रतिवेदनमा शहरी क्षेत्रमा बाल श्रम बढेको तथ्याङ सार्वजनिक गरेको छ ।
नेपाल श्रमशक्ति सर्वेक्षण २०७४ को तथ्याङमा शहरी क्षेत्रमा ४३ लाख २१ हजार बालबालिकाको संख्या रहेकोमा ५ लाख २१ हजार बालबालिका बालश्रममा संलग्न रहेको देखिएको छ ।
नेपाल श्रमशक्ति सर्वेक्षण २०६४ मा शहरी क्षेत्रमा १० लाख २२ हजार बालबालिका मध्ये ९४ हजार बालबालिका बालश्रमको संलग्न रहेका थिए । प्रतिवेदनअनुसार ग्रामीण क्षेत्रमा भने बालश्रम घट्दै गएको छ ।
तथ्यांकमा ग्रामीण क्षेत्रमा बालबालिकाको संख्या २७ लाख ५४ हजार रहेकोमा ५ लाख ६१ हजार बालबालिका बालश्रमिकको रूपमा संलग्न रहेको देखिएको हो ।
प्र्रतिवेदनअनुसार २०६४ मा शहरी क्षेत्रमा ९.१९ प्रतिशत बालश्रमिक थियो भने नेपाल श्रमशक्ति सर्वेक्षण २०७४अनुसार बालश्रमिकको दर बढेर १२.१ प्रतिशत पुगेको हो । यस्तै २०६४ मा ग्रामीण क्षेत्रमा २२.३१ प्रतिशत बालश्रमिक हुने गरेकोमा नेपाल श्रमशक्ति सर्वेक्षण २०७४ अनुसार घटेर २०.४ प्रतिशत रहेको छ ।
प्रतिवेदन अनुसार नेपालमा १० लाख ८२ हजार बाल श्रमिक देखिएको छ । जसमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १९ प्रतिशत, लुम्बिनी प्रदेशमा १८ प्रतिशत, सुदुरपश्चिम र मधेश प्रदेशमा १६ प्रतिशत छन् । यस्तै कर्णाली प्रदेशमा १२ प्रतिशत, बाग्मती प्रदेशमा १० प्रतिशत र सबैभन्दा कम गण्डकीमा ९ प्रतिशत बालश्रमिक रहेको देखाएको हो ।
बालश्रममा लाग्ने बालबालिका मध्ये बालिकाको संख्या धेरै छ । देशभर ५ लाख ७७ हजार बालिका बालश्रमका संलग्न रहेको र ५ लाख ४ हजार बालक संलग्न रहेको देखाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाललाई बालश्रममुक्त राष्ट्र बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।
उनले बालश्रमसम्बन्धी नीतिहरू भूगोलअनुसारको अनुसन्धानमा आधारित भएर बनाइनुपर्नेमा जोड दिंदै बालश्रम र सामान्य बालकार्य छुट्याउन शैक्षिक, सामाजिक र कानुनी दृष्टिकोणबाट स्पष्ट व्याख्या आवश्यक रहेकोमा जोड दिए ।
मन्त्रालयले २०७८ वैशाख ३० गतेको सचिवस्तरीय निर्णयअनुसार देशभरका ७५३ वटै स्थानीय तहमा कार्यरत रोजगार संयोजकहरूलाई बालश्रम निवारणसम्बन्धी सम्पर्क व्यक्तिको रूपमा तोकेको छ । यसबाट स्थानीय स्तरमा बालश्रम नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयले बालश्रम न्यूनीकरणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरेको छ । सो अवधिमा ३,७४४ वटा प्रतिष्ठानहरूको अनुगमन गरिएको थियो भने बालश्रममा संलग्न ७२ जना बालबालिकालाई उद्धारसमेत गरिएको मन्त्रालयले जनाएको छ । प्रतिवेदन अनुसार, देशका ७५३ मध्ये केवल १० वटा स्थानीय तह मात्रै बालश्रममुक्त घोषणा भएका छन् ।