कपिलवस्तु : विश्व दृष्टि दिवसको अवसरमा इलाका प्रहरी कार्यालय कृष्णनगरले बिहीबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु)–नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित यो कार्यक्रममा प्रहरी कर्मचारीहरूको आँखा स्वास्थ्य जाँच गरिएको छ ।
शिविरमा इलाका प्रहरी कार्यालय कृष्णनगर र मातहतका कार्यालयमा कार्यरत एक सयभन्दा बढी प्रहरी कर्मचारीले आँखा परीक्षण गराए । सहभागीहरूलाई दृष्टि जाँचका साथै आँखा स्वास्थ्यसम्बन्धी परामर्श, प्राथमिक उपचार, र सचेतनामूलक जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमका संयोजक प्रहरी निरीक्षक ईश्वर लौडारीले भने, “नियमित स्वास्थ्य जाँचले प्रहरी कर्मचारीको कार्यक्षमता र आत्मविश्वास बढाउँछ । आँखा स्वास्थ्यप्रति यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउँछ र यस्ता पहल भविष्यमा पनि निरन्तर रहनेछ ।”
आयोजकका अनुसार, यो शिविरले प्रहरी कर्मचारीहरूमा आँखा स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै दृष्टि सुरक्षाको महत्वलाई व्यापक रूपमा उजागर गरेको छ । यस्ता कार्यक्रमले स्वास्थ्य सेवाप्रति समुदायको विश्वास र प्रहरीको मनोबल दुवै बढाउने अपेक्षा गरिएको छ ।