प्यूठान : लुम्बिनी प्रदेश सरकार अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा शहरी विकास तथा खानेपानी मन्त्रालयले सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति गर्दै ८४.५५ प्रतिशत खर्च कार्यान्वयन गरेको छ ।
नेपाली कांग्रेसका युवा नेता तथा मन्त्री रोज राणा (सरोज थापा) को नेतृत्वमा रहेको मन्त्रालयले विकास निर्माणमा अग्रता लिँदै प्रदेशका सबै मन्त्रालयमध्ये शीर्ष स्थान हासिल गरेको हो ।
मन्त्रालयका प्रवक्ता गुणानिधि पोखरेलका अनुसार, खानेपानी गुणस्तर सुधार र योजना कार्यान्वयनमा पारदर्शिता, इन्जिनियरिङ दक्षता र जनसहभागितालाई प्राथमिकतामा राखिएको थियो ।
लुम्बिनी प्रदेशको समग्र आर्थिक खर्च ७२.४३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.२९ प्रतिशतले बढी हो। सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट विनियोजन गरेकामा २८ अर्ब २२ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्चतर्फ २४ अर्ब ५८ करोडको बजेटमध्ये १७ अर्ब ९१ करोड रुपैयाँ (७२.८७ प्रतिशत) खर्च गरिएको छ ।
मन्त्री राणाले मन्त्रालय सम्हालेको प्रारम्भदेखि नै सुशासन, पारदर्शिता र जवाफदेहीताका साथ योजना कार्यान्वयनमा जोड दिएको बताए । उनले भने, ‘मैले सुरू दिनदेखि नै दिगो र प्रभावकारी विकासको अठोट लिएको थिएँ । यो उपलब्धि सबैको सहकार्य र इमानदार प्रयासको परिणाम हो ।’
उनले मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुखहरू, इन्जिनियर, उपभोक्ता समिति, निर्माण व्यवसायी र राष्ट्रसेवक कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन् । यस आर्थिक वर्षमा मन्त्रालयले १०५ ठूला आयोजना सम्पन्न गरेको छ ।
अन्य मन्त्रालयहरूको वित्तीय प्रगति विवरण हेर्दा स्वास्थ्य मन्त्रालयको ८६.०४ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइको ७७.०७ प्रतिशत, सामाजिक विकासको ७१.३८ प्रतिशत, कृषिको ६७.९३ प्रतिशत, भौतिक पूर्वाधारको ६६.९३ प्रतिशत, आर्थिक मन्त्रालयको ६८.२० प्रतिशत, वन तथा भू–संरक्षणको ६५.७५ प्रतिशत, उद्योग, पर्यटन तथा वातावरणको ६२.२२ प्रतिशत,
आन्तरिक मामिला तथा कानुनको ६१.८३ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ३८.९२ प्रतिशत रहेको छ । सबैभन्दा कम प्रगति महिला तथा बालबालिका मन्त्रालयको ६.०९ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा प्रगति दर सुधार भए पनि केही मन्त्रालयहरू अझै पछि परेका छन् भने केहीले वित्तीय कार्यान्वयनमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् ।