२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

अपराध नियन्त्रणमा अर्घाखाँची प्रहरी सफल : डिएसपी मल्ल

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ साउन १ गते २०:४६
अपराध नियन्त्रणमा अर्घाखाँची प्रहरी सफल : डिएसपी मल्ल

अर्घाखाँची : जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न अर्घाखाँची प्रहरी सफल भएको दाबी गरेका छन् ।

झण्डै १० महिना अगाडि अर्घाखाँचीको जिम्मेवारी सम्हालेका डिएसपी मल्लले बिहीबार पत्रकारहरूसँग वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कानून कार्यान्वयनका सवालमा कसैसँग सम्झौता नगरी इमान्दारीपूर्वक काम गरेको बताए ।

‘जनतालाई भरोसा, अपराधीलाई डर हुने ढंगबाट मैले काम सुरु गरें,’ उनले भने, ‘शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने कुरामा कुनै पनि कसुर बाँकी नराखी काम गरेकाले अहिलेसम्म आफूलाई एक इमान्दार प्रहरी अफिसरको रूपमा स्थापित गराउन सफल भएको छु ।’उनले संगठनको भरोसा र जनताको विश्वास गुम्न नदिने गरी काम गर्दै आएको स्पष्ट पारे ।

डिएसपी मल्लका अनुसार, अर्घाखाँचीमा एक वर्षको अवधिमा आत्महत्या गरेर मृत्यु हुनेको संख्या ५० पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा झुन्डिएर ४९ जना र विष सेवनबाट १ जना गरी ५० जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेहरूमा १९ देखि ३० वर्ष उमेर समूहका २५ जना, ३६ देखि ४६ वर्ष समूहका १९ जना र ६० वर्षभन्दा माथिका ६ जना रहेका छन् । 

आत्महत्याका प्रमुख कारणहरूमा अशिक्षा, गरिबी, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, वैदेशिक रोजगारी, मानसिक रोग, प्रेममा असफलता लगायत रहेका डिएसपी मल्लले जानकारी दिए ।

फरार प्रतिवादी पक्राउ र मुद्दा फर्छ्यौट

प्रहरीको सक्रियतामा विभिन्न मुद्दामा फरार ३० जना प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ । त्यस्तै, ३ हजार ६८ वटा सवारी कारबाहीबाट रु. ४२ लाख २८ हजार राजस्व संकलन गरिएको छ । बाल विवाह, जुवा, ज्यान मार्ने उद्योग, ठगी, लागुऔषध, चोरी लगायतका १६४ वटा मुद्दा दर्ता भएका मध्ये ६४ वटा मुद्दा फर्छ्यौट भएका छन् । 

यस्तै जिल्लामा पहिरो, हावाहुरी र आगलागीबाट ५९ घर र ३३ वटा गोठमा क्षति पुगेको छ । यस घटनाबाट ३२ वटा चौपाया मरेका छन् भने ३३ घाइते भएका छन् । 

अर्घाखाँची प्रहरीले १,९३१ स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३५ हजार ६७१ जनालाई लाभान्वित बनाएको छ । त्यस्तै सडकमा चालक र सहचालकका लागि आँखा परीक्षण शिविर तथा मुख्य सडकहरूमा चेतनामूलक बोर्डहरू राखिएको डिएसपी मल्लले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise