पूर्ववर्ती सरकारले गरेको नियुक्तिहरू धमाधम उल्ट्याउने क्रम शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार केही राजनीतिक नियुक्ति खारेज गरेका छन् । मन्त्रिपरिषद् बैठकबाट भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेज गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकर्ता भर्ती गर्नेगरी देवीप्रसाद ज्ञवालीको नेतृत्वमा देशभर भूमि आयोगमा नियुक्ति गरेका थिए । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो आयोग नै खारेज गरेको छ । देशभर ठूलो संख्यामा गरिएको नियुक्ति बदर हुनेगरी यो आयोग खारेज गरिनु नेकपा एमाले पंक्तिका लागि सुखद् समाचार होइन । भरतपुर महानगरमा मेयर पदमा पराजित ज्ञवालीलाई ओलीले खुशी पार्न आयोगको अध्यक्ष बनाएका थिए ।
भूमि आयोगसँगै सरकारले अन्य नियुक्तिहरु समेत खारेज गर्ने संकेत दिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्रीका निर्देशनअनुसार उर्जा मन्त्री पम्फा भुसालले राजीनामा गर्न शाक्यलाई भनिसकेका छन् । शाक्यको ठाउँमा कुलमान घिसिङ ल्याउने तयारी समेत सरकारले गरेको छ । लोडसेडिङ मुक्त गरेका घिसिङले यसअघि चार वर्षे कार्यकाल पूरा गरिसकेका छन् । उनलाई पुनः कार्यकारी निर्देशक नियुक्त गर्न आम पंक्तिले दबाव दिएपनि ओलीले आफू निकट शाक्यलाई नियुक्त गरेका थिए । तर नयाँ सरकार आउनासाथ घिसिङलाई ल्याउनेगरी शाक्यसँग राजीनामा मागिएको छ । घिसिङले नाफामा छोडेको प्राधिकरणमा शाक्य आएपछि घाटामा भएकाले उनीसँग राजीनामा मागिएको मन्त्री भुसालले बताएकी छन् ।
सरकारले गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालको राजीनामा समेत स्वीकृत गरेको छ । ओलीको पक्षमा सामाजिक सञ्जालमा बलियो समर्थन गर्ने, तर बाँकी नेताहरुविरुद्ध जथाभावी लेख्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईसँग पनि सरकारले स्पष्टिकरण सोधेको छ । संभवतः उनलाई बर्खास्त गर्ने तयारी हो, यो । सरकारले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै भट्टराईलाई बर्खास्त गर्न सक्छन् । यस्ता अनेक राजनीतिक नियुक्ति उल्ट्याउने संभावना देखिएको छ । किनकि ओलीको बहिर्गमन र देउवाको प्रधानमन्त्री नियुक्ति सहज रुपमा भएको होइन । तर चिन्ता भने आवश्यकताका आधारमा यस्ता नियुक्ति गर्ने र आवश्यकताकै आधारमा हटाउने नभएर राजनीतिक प्रतिशोधको खतरा बढी देखिन्छ । ओलीले गलत तरिकाले नियुक्ति दिएका थिए भने पनि योग्य पात्रबारे सरकारले पुनर्विचार गर्न जरुरी छ । मुलुकसँग जोडिएका विषयमा नियुक्तिकै बेला ध्यान पुर्याउने, तर प्रतिशोध साध्नेगरी नियुक्ति र बर्खास्त गरिनु उचित हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies