२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

अर्घाखाँची खानेपानी कार्यालयको वित्तीय प्रगति ९६ प्रतिशत

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ साउन ६ गते २०:५४
अर्घाखाँची खानेपानी कार्यालयको वित्तीय प्रगति ९६ प्रतिशत

अर्घाखाँची : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८१/०८२ मा ९५.७३ प्रतिशत वित्तीय र ९६.१५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । कार्यालयका प्रमुख इन्जिनियर रामभरोस यादवका अनुसार, गुणस्तरीयता कायम राख्दै योजनाहरूको कार्यान्वयनमा ध्यान दिँदा यो प्रगति सम्भव भएको हो । 

कार्यालयको मातहतमा रहेको १८३ योजनामध्ये १६ योजनाको कार्य सम्पन्न गरी ४ हजार १५ घरधुरीमा ‘एक घर एक धारा’ योजनाअन्तर्गत खानेपानी सुविधा पुर्‍याइएको छ । प्रमुख यादवका अनुसार, ३६ वटा योजनाको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भए पनि बजेट अभावका कारण ती योजना पूर्णरूपमा सम्पन्न गर्न नसकिएको हो ।

उनले समयमै १२ करोड रुपैयाँको हाराहारीमा बजेट प्राप्त भएमा थप ४ हजार घरधुरीमा एक घर एक धारा योजनाअन्तर्गत सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यालयले अनुगमन र प्राविधिक मूल्यांकन पश्चात् मात्र भुक्तानी गर्ने नीति अवलम्बन गर्दै आएको बताइएको छ । कार्यालय प्रमुख यादवले गत वर्षकै जस्तो अनुपातमा यस वर्ष पनि बजेट प्राप्त भएको जानकारी दिए ।

शितगंगा नगरपालिका वडा नं. १० का पूर्ववडाध्यक्ष हिम्मत पोख्रेलले कार्यालयका प्राविधिक कर्मचारीहरू नियमित रूपमा फिल्डमा पुगेर गुणस्तरीय काम गराउँदै आएको जानकारी दिए । सन्धिखर्क नगरपालिका वडा नं. ६ का स्थानीय बासिन्दा प्रकाश महत्राले कार्यालयको कामप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले खुलेर प्रशंसा गर्दै आएको बताए ।

सवइन्जिनियर गोविन्द आचार्यका अनुसार, प्रमुख यादवको निर्देशनमा प्राविधिकहरू बिहानदेखि बेलुकासम्म र बिदाका दिनसमेत फिल्डमा खटिने गरेका छन् ।  योजनाहरू तोकिएको समयमै सम्पन्न गर्नका लागि कर्मचारीहरू दिनरात नभनी सक्रिय छन् ।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाका अनुसार, कार्यालयका प्राविधिकहरू निरन्तर उपभोक्ता तथा जनताको सेवामा खटिएको देखिन्छ । प्राविधिक रामप्रसाद पोख्रेलका अनुसार, योजनाको कार्यान्वयन उपभोक्ता समितिमार्फत हुने भएकाले उपभोक्तालाई सहजीकरण गर्न प्राविधिकहरू नियमित रूपमा फिल्डमा खटिनु बाध्यताजन्य बनेको छ ।

स्थानीय तह र उपभोक्तासँग सहकार्य गर्दै गुणस्तरीय कार्य सम्पन्न गरिरहेको खानेपानी कार्यालय अर्घाखाँचीले सोचिएकोभन्दा बढी प्रगति गर्न सफल भएको स्पष्ट देखिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise