अर्घाखाँची : लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिएका छन् ।
शहरी विकास तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेशले आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगतिसमीक्षा गोष्ठिमा मन्त्री राणाले कार्यसम्पादनमा देखिएका कमिकमजोरी सच्याउँदै जनमुखी ढंगले काम गर्न निर्देशन दिए ।
उनले मन्त्रालयको साख जनतामाझ उच्च बनाउन सबै तहका अधिकारीहरूको सक्रियता अपरिहार्य भएको उल्लेख गरे ।
वार्षिक समीक्षा कार्यक्रममा मन्त्री राणाले अघिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारको खानेपानी तथा शहरी विकास मन्त्रालयलाई अब्बल बनाउन योगदान पु¥याएका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनुका साथै आगामी वर्ष देशका सातै प्रदेशमध्ये उत्कृष्ट मन्त्रालयको रूपमा स्थापित हुने लक्ष्यसहित अघि बढ्न निर्देशन दिए ।
मन्त्री राणाले ‘एक घर, एक धारा – शुद्ध पानी’ अभियानलाई प्राथमिकतामा राख्दै संघीयताको मर्म अनुसार प्रत्येक नागरिकसम्म पहुँच पुगोस् भन्ने उद्देश्यले मन्त्रालयले दीर्घकालीन योजनाहरू अघि बढाएको जानकारी दिए ।
उनले प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै सेवालाई सरल, सहज र सबै नागरिकका लागि सुलभ बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।
मन्त्री राणाले खानेपानी तथा शहरी विकास मन्त्रालय जनताको दैनन्दिन जीवनसँग जोडिएको मन्त्रालय भएकाले दीर्घकालीन रूपमा जनसरोकारका योजनाहरू कार्यान्वयन गरिने उल्लेख गरे । पूँजीगत खर्चमा वृद्धि गर्दै मितव्ययी नीति अपनाउनुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव बासुदेव पौडेल, प्रवक्ता तथा महाशाखा प्रमुख गुणानिधि पोख्रेलसहित सबै शहरी विकास कार्यालय प्रमुखहरूले आ–आफ्नो धारणा राखेका थिए । मन्त्री राणाका स्वकीय सचिव महेन्द्र केसीका अनुसार बैठकमा प्रदेशका जिल्लास्तरीय विकास निर्माण कार्यमा समयानुकूलता, गुणस्तर र जनगुनासो नआउने व्यवस्थापनमा विशेष ध्यान दिन पनि निर्देशन दिइएको थियो ।