२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

सल्यानमा लामो खडेरीपछि वर्षाका लागि भुमे पूजा, ५० प्रतिशत मात्रै रोपाइँ

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते १३:३१
सल्यानमा लामो खडेरीपछि वर्षाका लागि भुमे पूजा, ५० प्रतिशत मात्रै रोपाइँ

सल्यान : सल्यानको पश्चिमी भेगमा लामो समयदेखि वर्षा नहुँदा बाली सुक्न थालेको छ । वर्षाको प्रतीक्षा गर्दै खेतबारी बाँझो बस्न थालेपछि स्थानीय बासिन्दाले भुमे देवता पूजा गरी पानी मागेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–१ का आम्र, घाटगाउँ, बुरेली, बस्नेउरा र माल्चे क्षेत्रका बासिन्दाले परापूर्वकालदेखि चलिआएको परम्पराअनुसार सामूहिकरूपमा पूजा गरेका हुन् । लामो खडेरीका कारण समयमै रोपाइँ हुन नसकेको र धानको बिरुवा तयार गरिएको व्याडसमेत सुक्न थालेपछि स्थानीय संकटमा परेका छन् ।

स्थानीय वडासदस्य लोगबहादुर बुढाका अनुसार भुवनेश्वरी मन्दिर नजिकै रहेको सिद्ध गुफामा पूजा गरेपछि पानी पर्ने जनविश्वास छ । 'यसपटक पनि सोही परम्पराअनुसार पूजा गरिएको हो,' उनले भने । भुमे देवतालाई खुसी पार्न बोका, पाठीलगायत जनावरको बलि दिने परम्परा पनि यथावत् रहेको बुढाले जनाए ।

५० प्रतिशत मात्र रोपाइँ, किसान मर्कामा

सुनौली खोला आसपासका कालागाउँ, पानसेरा, सुनौली लगायतका क्षेत्रमा पनि पानी अभावका कारण खेतीयोग्य जमिन बाँझै बस्न थालेको छ । खोलामा पानी सुक्दा परम्परागत सिँचाइ कुलोहरू सुकाएका छन् । केही किसानले सौर्य पम्पको प्रयोग गरे पनि त्यो पर्याप्त नपरेको उनीहरू बताउँछन् ।

बनगाड जिउला आसपासका बगर जमिनमा केही रोपाइँ भएको भए पनि सल्लीबजार र भेरी किनार क्षेत्र अझै बाँझै छन् ।

वर्षा नहुँदा सल्यानको पश्चिमी क्षेत्रमा करिब ५० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । असार मसान्तसम्म रोपाइँ सकिने गरेको भए पनि यस वर्ष साउन लाग्दासम्म पनि पर्याप्त वर्षा नहुँदा उत्पादनमा गम्भीर असर पर्ने देखिएको छ ।

स्थानीय कृषक नविन पुनले भने, 'पोहोर साल यो बेलासम्म सबै खेत रोपिसकिएको थियो, अहिले त आधा पनि भएको छैन । खोलामा पानी छैन, व्याड सुक्दैछ, अब त पूजा गरेपछि मात्रै आशा छ ।'

कृषकहरूका अनुसार सिँचाइ अभावकै कारण कतिपय स्थानमा पानीकै विषयमा झगडा र मनमुटावसमेत सुरु भएको छ ।

खाद्य सुरक्षामा खतरा

स्थानीय तहमा धान उत्पादन घट्ने संकेतसँगै खाद्य सुरक्षामा पनि संकट देखिएको छ । वर्षभरको खाद्यान्न उत्पादन प्रभावित हुने खतरा बढेसँगै किसानहरू बिचल्लीमा पर्न थालेका छन् ।

स्थानीयले सरकार र सम्बन्धित निकायलाई तत्काल राहत तथा वैकल्पिक सिँचाइको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise