२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

ठाकुरबाबामा ‘वास गेन्स परियोजना’ सञ्चालित विद्यालयहरूको अनुगमन

shivam cement
सन्तोष पौडेल
२०८२ साउन ९ गते २१:१३
ठाकुरबाबामा ‘वास गेन्स परियोजना’ सञ्चालित विद्यालयहरूको अनुगमन

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित ‘वास गेन्स परियोजना’ अन्तर्गतका विद्यालयहरूको संयुक्त टोलीले अनुगमन गरेको छ ।

अनुगमन टोलीले कर्मला माध्यमिक विद्यालय कर्मला, जनज्योती माध्यमिक विद्यालय वकुवा, शारदा आधारभूत विद्यालय शाहीपुर, नेउलापुर आधारभूत विद्यालय नेउलापुर, र जनचाहाना आधारभूत विद्यालय डुम्रेनीको अवलोकन तथा अनुगमन गरेको हो । 

टोलीले विद्यालयहरूमा सञ्चालित खानेपानी, सरसफाई तथा स्वच्छता, सुविधासहित परियोजनाअन्तर्गत निर्माण गरिएका संरचनाहरू, शौचालय, हात धुने स्थान, खानेपानी आपूर्ति व्यवस्थापन आदिको प्रत्यक्ष अवलोकन गरेको थियो । 

यस्तै, अनुगमन टोलीले विद्यालयमा परियोजना सञ्चालनपछि देखिएका असल अभ्यास र सकारात्मक परिवर्तनहरूका बारेमा छलफल गर्दै ठाकुरबाबा नगरपालिकाले जारी गरेको खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि २०८१ मा समेटिएको १० वटा सूचकांकका आधारमा विद्यालयहरूले गरेको स्वमूल्यांकन र त्यसको प्रमाणहरूको समेत समीक्षा गरेको थियो ।

तिनतारे प्रमाणीकरणका लागि गरिएको यस अनुगमनमा टोलीले विद्यालयलाई तिनतारे घोषणा गरेपछि त्यसको दिगोपन सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सबै सरोकारवालाहरूको सक्रिय सहकार्य आवश्यक हुनेमा जोड दिएको छ ।

त्यस्तै टोलीले विद्यालयलाई हरित विद्यालय कार्यक्रमलाई निरन्तरता दिई वातावरण संरक्षणमा विशेष पहल गर्न पनि सुझाव दिएको छ ।

अनुगमन टोलीमा ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विनाकुमारी भट्टराई, वडाध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, वास गेन्स परियोजनासम्बद्ध संस्थाका पदाधिकारी तथा कर्मचारीहरू, साथै सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

विद्यालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा सुनिश्चित गरी अपाङ्गता भएका बालबालिकाहरू तथा किशोर–किशोरीहरूको पहुँच वृद्धि गर्दै सिकाइका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यसहित ठाकुरबाबा नगरपालिकाका पाँच वटा विद्यालयमा ‘वास गेन्स परियोजना’ सञ्चालनमा ल्याइएको हो । 

उक्त परियोजना युके एड र वाटर एडको सहयोगमा, नेपाल प्रजनन स्वास्थ्य केन्द्र तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाद्वारा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise