सल्यान : शारदा नगरपालिकाले मानवजन्य लेदो (दिसा पिसाब) तथा फोहोर व्यवस्थापनमा सम्भावित समस्या आउनु अघिनै पूर्वतयारी थालेको छ । ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार कार्यक्रम’ अन्तर्गत युएन ह्याबिट्याट र शारदा नगरपालिकाबीच भएको छलफलमा यस्तो तयारी गरिएको जनाइएको हो ।
छलफलमा नगर उपप्रमुख सुस्मिता सापकोटाले अहिलेसम्म शौचालयका सेप्टिक ट्याङ्क भरिएर समस्या उत्पन्न नभए पनि निकट भविष्यमै समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर नीतिगत तथा कार्यक्रमगत तयारी गरिएको बताइन् । उनले भनिन्,‘हाल त तत्काल समस्या छैन, तर भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले नीतिगत तयारी पूरा गरिसकेको छ र आवश्यक कानुनी संरचनाहरू निर्माण गरिसकेको छ ।’
शारदा नगरपालिकाको श्रीनगर क्षेत्रमा शहरीकरण तीव्र गतिमा भइरहेको छ । तर नागरिकस्तरमा चेतनाको अभाव, नगरसँगको सीमित बजेट र भवन निर्माण संहितामा स्पष्ट व्यवस्था नहुनुले स्तरीय सेप्टिक ट्याङ्क निर्माण हुन सकेको छैन ।
नगर प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले मानव मलमूत्र प्रशोधन केन्द्र र सेप्टिक ट्याङ्क निर्माणको प्राविधिक पक्षलाई अध्ययन गरेर आवश्यक नीति परिमार्जन गरिने बताए ।
देवकोटालले भने,‘अहिले विस्तारै सेप्टिक ट्याङ्कहरू भरिन थालेका छन्, त्यसैले नगरपालिकाले सक्सन ट्याङ्क किन्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न वा अन्य स्थानीय तहबाट उपकरण ल्याउन निर्णय गर्न लागिएको छ ।’
हाल नगरपालिकाले ५ रोपनी क्षेत्रफलमा फोहोरमैला व्यवस्थापन गरिरहेको छ । तर नजिकै खोला रहेकाले मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणका लागि अन्यत्र उपयुक्त जग्गाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
छलफलमा युएन ह्याबिट्याटकी राष्ट्रिय प्रोफेस्नल अफिसर सुधा श्रेष्ठले मानव मलमूत्र प्रशोधन केन्द्र नभए पनि सेप्टिक ट्याङ्कको गुणस्तरीय निर्माण र नियमन गर्न सकिएमा भविष्यमा देखा पर्न सक्ने समस्या न्यूनीकरण गर्न सकिने बताइन् ।
उनीले भनिन् ‘स्तरीय सेप्टिक ट्याङ्क निर्माणले मलमूत्र चुहिने, पानीको स्रोतमा मिसिने वा छिटो भरिने समस्यालाई रोक्न मद्दत गर्छ । अब भवन निर्माण संहितामा अनिवार्य रूपमा यसको व्यवस्था गर्नुपर्ने बेला आएको छ ।’
गएको असार १४ गते शुक्रबार, युएन ह्याबिट्याट, नेपाल नगरपालिका संघ, वाटर एड नेपाल र सात वटा नगरपालिकाबीच गरिएको बहुपक्षीय सम्झौता अनुसार यो कार्यक्रम सुरु गरिएको हो । सातै प्रदेशका एक–एक नगरपालिका छनोट भइ कार्यक्रम सुरु गरिएको हो, जसमा शारदा नगरपालिका कर्णाली प्रदेशबाट परेको हो ।
कार्यक्रम अन्तर्गत शारदा नगरपालिकामा मानव मलमूत्र व्यवस्थापनसम्बन्धी कानुनी औजार निर्माण, तथ्याङ्क संकलन र अद्यावधिक, कार्यसम्पादन सूचक तथा मानक संकलन,जनशक्ति क्षमता अभिवृद्धि, सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरूको सीप अभिवृद्धिका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग र मन्त्रालयमार्फत तालिम सञ्चालन गरिने भएको छ ।
शारदा नगरपालिकामा सञ्चालित यो कार्यक्रमले दीर्घकालीन सरसफाइ सुधार, पूर्वाधार सुदृढीकरण र वातावरणीय सुरक्षा तर्फको ठोस आधार तय गर्ने विश्वास गरिएको छ ।