रेसुंगा : रेसुंगा नगरपालिका वडा नं. ७ मा एकसय किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापनाको तयारी सुरू गरिएको छ । वडाध्यक्ष राम्जी पन्थीको अगुवाइमा वडा कार्यालयमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले वडाका सबै जनप्रतिनिधिहरूको सहमतिमा योजना अघि बढाउने निर्णय गरेको हो ।
बैठकमा वडाध्यक्ष पन्थीसहित सबै वडासदस्य, टोल विकास समिति, राजनीतिक दलका प्रतिनिधि, विद्यालय तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । वडाध्यक्ष पन्थीले बैठकमा वडाको समग्र विकासका लागि दीर्घकालीन ऊर्जा योजना प्रस्तुत गर्दै बजेटको प्रभावकारी प्रयोग गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले अर्जुन क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य मात्र नभइ हावा ऊर्जा उत्पादनको उपयुक्त केन्द्रका रूपमा चिनाउँदै, दुई वर्षअघि नै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा योजना सिफारिस भइसकेको र हाल मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिए ।
वडाबाट १०० किलोवाट क्षमताको हावा ऊर्जा उत्पादन गरिने र अर्जुन क्षेत्रबाट उनायचौर सबस्टेशनको दूरी करिब ८ सय मिटर मात्र भएकाले उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिक्री गर्न सकिने उनको भनाइ छ ।
योजना सफल भएमा दैनिक ८ हजार, मासिक २ लाख ४० हजार र वार्षिक २८ लाख ८० हजार रुपैयाँसम्म आम्दानी हुन सक्ने अनुमान गरिएको छ । साथै, सिंगो नगरपालिकाभर १ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावनाले नगरस्तरमै ठूलो आर्थिक स्रोत विकास गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
योजनाको प्रारम्भिक चरणका लागि १ करोड ५० लाख रुपैयाँको लगानीमा आवश्यक संरचना निर्माण गरिनेछ । सो लगानीमा वडाबासीलाई सेयरमार्फत सहभागी गराइनेछ भने बाँकी बजेट संघ, प्रदेश र वैकल्पिक ऊर्जा केन्द्रबाट समन्वय गरी जुटाइने तयारी गरिएको छ ।
वडाका सम्पूर्ण जनप्रतिनिधिहरूले योजना उपयुक्त रहेको भन्दै ऐक्यबद्धता जनाएका छन् । बैठकले योजना सर्वपक्षीय सहमतिमा अघि बढाउने निर्णय गर्दै प्रारम्भिक चरणको कार्य तत्काल सुरू गर्ने निष्कर्ष निकालेको छ ।