२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ADV
दिलमाया शाही
२०८१ असार ३१ गते १५:४०
जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जुम्ला : जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सोमबार जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा एक कार्यक्रमका बीच जुम्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका सात वटै स्थानीय तहका बालबालिकालाई खोप लगाइएको जन स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए । त्यसका लागि खोपलाई सबैले प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो । 

जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख जनक थकालीले बालबालिकाका लागि पूर्ण खोपको अभियान महत्वपूर्ण रहेको बताए । उनले सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएकोमा सबै पालिकाका स्वास्थ्यकर्मीहरुप्रति आभार व्यक्त गरे । उनले बालबालिकालाई रोग लाग्नुभन्दा पहिले रोग लाग्न नदिनका लागि सरकारले थालेको खोप अभियान कार्यक्रमलाई प्रथामिकतामा राखेर कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बालबालिकाले बीसीजी, डीपीटी, दादुरा रुवेला, निमोनियालगायतका सबै खोप पूरा गर्नु पर्ने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले बताए । उनका अनुसार  १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोप दिएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गरिएको हो  । उनले जुम्लाका २ हजार ९ सय २७ बालबालिकालाई पूर्ण खोप लगाइएको जानकारी दिए ।

चन्दननाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पृथ्वीनाथ योगीले स्वस्थ रहनका लागि बालबालिकाहरुको खोपमा ध्यान दिनुपर्ने बताए । खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि लागि सबैको मिहिनेत सराहनीय रहेको उनले बताए ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

सो अवसरमा आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्तरूपमा हस्ताक्षरसमेत गरिएको छ । 

कार्यक्रममा जनस्वास्थ्य कार्यलय जुम्लाले आठ वटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मानसमेत गरेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise