सर्लाही : नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको धनकौलस्थित वैद्यनाथ आमा तथा बाल अस्पतालको ओपीडी सेवा तत्काल सञ्चालन गर्नुपर्ने बताएका छन् ।
अस्पतालको निरीक्षण गर्न पुगेका उनले अस्पतालको पूर्वाधार, सेवा प्रवाह र उपचार प्रक्रियाबारे जानकारी लिँदै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूसँग संवाद गरेका थिए । अस्पतालको अवस्था अवलोकनपछि पूर्वमन्त्री सिंहले भौतिक संरचना तथा कर्मचारी व्यवस्थापनबारे आवश्यक छलफल गर्दै, तत्काल ओपीडी सेवा सुचारु गर्नुपर्ने बताए ।
ओपीडी सेवा सुरू भएपछि स्थानीय ग्रामीण बस्तीका सर्वसाधारणले नजिकैबाट सहज स्वास्थ्य सेवा पाउने बताइएको छ ।
सिंहले वैद्यनाथ आमा तथा बाल अस्पताललाई जिल्लाकै उदाहरणीय स्वास्थ्य संस्था बनाउने लक्ष्य रहेको बताए । उनले अस्पतालले ग्रामीण बासिन्दालाई सेवा दिँदै आएको उल्लेख गर्दै, यसलाई अझ स्तरीय बनाउन प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।