२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

देशभर बढ्दै डेंगुको त्रास

Nada
अस्मिता बम
२०८२ साउन १३ गते ०६:२०
Shares
देशभर बढ्दै डेंगुको त्रास

काठमाडौं : पछिल्लो समय देशभर डेंगुको त्रास बढेको छ । २०२५ को जनवरीदेखि जुलाई २७ सम्ममा डेंगु संक्रमण ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २७ जुलाईसम्म डेंगु ७४ वटा जिल्लामा फैलँदै संक्रमितको संख्या २ हजार ३ सय १० पुगेको छ । पछिल्लो एक सातामा मात्र १ सय १४ नयाँ संक्रमित थपिएको महाशाखाको तथ्यांक छ  । 

जसअनुसार सबैभन्दा बढी संक्रमित काठमाडौंमा रहेको पाइएको छ । यस जिल्लामा २ सय ३५ जना संक्रमित छन् । कास्की पनि डेंगुको संक्रमण बढी भएको जिल्ला हो । कास्कीमा २ सय ३५ डेंगु संक्रमित देखिएका छन् । तनहुँमा १ सय २८, पाल्पामा १ सय २२ र सुनसरीमा १ सय १७ जनामा संक्रमण देखिएको छ । 

लामखुट्टे गर्मी हुने ठाउँमा पाइने भए पनि कुनै ठाउँको तापक्रम लगातार ३५ डिग्रीभन्दा बढी भइरहँदा त्यस्तो ठाउँमा लामखुट्टे धेरै दिन बाँच्न नसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाइरेक्टर डा. चन्द्रभाल झा बताउँछन् । ‘३५ डिग्रीभन्दा बढी तापक्रम हुने ठाउँमा लामखुट्टे धेरै सर्भाइभ गर्न सक्दैनन् । २५ डिग्रीभन्दा कम तापक्रम भएका ठाउँमा लामखुट्टे फैलिने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘मधेशमा पानी परेको छैन, तापक्रम उच्च छ, त्यसकारण त्यहाँ लामखुट्टे कम छन् र डेंगुको संक्रमण पनि न्यून छ ।’ 

प्रदेशगत रूपमा सबैभन्दा बढी संक्रमण गण्डकी प्रदेशमा रहेको इपिडिमियोलोजी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सात महिनाको अवधिमा गण्डकीमा ६ सय ५९ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । बाग्मतीमा ५ सय ३ जनामा संक्रमण भएको छ भने कोशीमा ४ सय ९, लुम्बिनीमा ३ सय ७५, सुदूरपश्चिममा २ सय ८०, कर्णालीमा ४६ जना र मधेशमा ३८ जनामा डेंगु संक्रमण देखिएको छ । 

मनसुनको समयमा डेंगु संक्रमण बढ्ने गरेको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन् । ‘पानी पर्दै रोकिँदै गर्‍यो भने लामखुट्टे बढ्ने सम्भावना बढी हुन्छ । पानी पर्‍यो । त्यसपछि २ सातासम्म पानी परेन भने जमेको पानी बग्न पाउँदैन । यस्तोमा लामखुट्टेको वृद्धिविकास छिटो हुन्छ र बाहिरी सतहमा देखिन थाल्छ,’ उनले भने । 

लामखुट्टे बाहिरी सतहमा देखिन थालेपछि डेंगु संक्रमण बढ्न सक्ने उनको भनाइ छ । एक वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा, मोटोपन भएका व्यक्ति, गर्भवती महिला, पेप्टिक अल्सर भएकाहरू, दीर्घ रोगीलगायत स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेकाहरू रोगीमा डेंगु उच्च जोखिममा पर्ने गरेको डा. पुनको भनाइ छ । 

डेंगु संक्रमण बढ्न नदिन घर परिपरिका खाडलमा पानी जम्न दिन नहुने उनी बताउँछन् । यसका साथै डेंगुको संक्रमणबाट बच्न आसपासका झाडी फँडानी गर्न उनको सुझाव छ । 

ताजा खबर

सम्बन्धित खबर