अर्घाखाँची : भूमिकास्थान नगरपालिका–९ र १० को संगमस्थलमा रहेको मृगस्थली झरना पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षको जुनसुकै मौसममा पनि धमिलो नहुने पानी र स्थायी सौन्दर्यका कारण यो झरनाले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।
विशेषगरी वर्षातको समयमा हरियाली र झरनाको छहरो हेर्न र गर्मी छल्न, चिसो पानीमा नुहाउन आउने पर्यटकको संख्या बढेको छ । फोटो खिच्ने, भिडियो बनाउने र रमाइलो गर्ने युवा पुस्ता आकर्षित हुने गरेका छन् । अर्घाखाँचीमा अवस्थित विभिन्न मनमोहक झरनामध्ये मृगस्थली पनि सुन्दरता, पहुँच र प्रचारका हिसाबले विशेष महत्व राख्ने स्थल बन्दै गएको छ ।
भूमिकास्थान–९ मा पर्ने मृगस्थली झरना वडा नं. १० धनचौरतर्फको प्रवेशद्वारमा पर्दछ । स्थानीय पूर्णबहादुर शाहीका अनुसार पछिल्लो समय झरनामा आन्तरिक पर्यटकको आगमन तीव्र रूपमा बढेको छ । गत वर्षदेखि हालसम्म झण्डै १२ हजार पर्यटकले झरनाको भ्रमण गरेको स्थानीय बासिन्दाले आँकलन गरेका छन् ।
झरनाको प्रचार–प्रसार र पूर्वाधार विकासमा जोड दिइएको बताउँदै समाजसेवी तेजुराम भट्टराईले झरनापरिसरमा सरचना निर्माणका लागि संघीय सरकारबाट पूर्वमन्त्री वेदुराम भुसालको पहलमा करिब एक करोड रुपैयाँ बजेट विनियोजन भइ टेन्डरमार्फत नयाँ संरचना बनाइएको जानकारी दिए । यद्यपि, निर्माण कार्यमा अनियमितता भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि नगरपालिकाले उक्त आरोपको खण्डन गरेको छ ।
स्थानीय समाजसेवी हृदयकुमार भुसालका अनुसार चार–पाँच वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेका छन् । ‘अघिल्लो दिनमा झरना सडकबाट देखिए पनि खासै कसैले चासो दिँदैन्थ्ये, अहिले धेरै आगन्तुक आउन थालेपछि स्थानीय उत्साहित भएका छन्,’ धनचौरका व्यवसायी लेखनाथ पाण्डेले भने ।
वडा नं. १० का अध्यक्ष खगेश्वर पन्थीका अनुसार झरनामा वार्षिक करिब १०–१२ हजार पर्यटक आउँछन्, तर आगन्तुकको औपचारिक तथ्यांक राख्ने प्रणाली भने अझै विकास भएको छैन । वर्षा कम भएकाले यसवर्ष पर्यटकको संख्यामा दोब्बर वृद्धि भए पनि रेकर्ड राखिएको छैन ।
स्थानीय हृदय भुसालका अनुसार पर्यटकका लागि विश्रामस्थल, दृश्य अवलोकन मञ्च, सरसफाइ व्यवस्था लगायतका पूर्वाधार अझै निर्माण गर्न बाँकी छ ।
वडा नं. ९ का अध्यक्ष खेमराज चुदाली भन्छन्, ‘झरना अत्यन्त आकर्षक छ, हामी जनप्रतिनिधिका रूपमा यसको विकास र प्रवद्र्धनमा लगातार लागिरहेका छौँ ।’
नगरप्रमुख झबिलाल थापाका अनुसार विशेष गरी असार र साउन महिनामा पर्यटकको आगमन उच्च हुने भएकाले त्यसको व्यवस्थापनका लागि विशेष योजना बनाइएको छ । ‘प्रदेश सरकारसँग समन्वय गर्दै आगामी वर्ष थप बजेटमा काम अघि बढाउने र जति सकिन्छ पर्यटक भित्र्याउने प्रयास भइरहेको छ,’ उनले भने । काम गर्दा आलोचना भएपनि परिणाममुखी कार्य नगरी नहुने उनको धारणा छ ।