अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपालप्रसाद अर्यालले किसानका समस्या र चुनौती बुझ्न घरदैलो अभियान सुरु गरेका छन् ।
उनले कृषि क्षेत्रमा किसानले भोग्दै आएका समस्या र राज्यको अनुदान दुरुपयोग भएको छ कि भएको छैन भन्ने बुझ्नका लागि कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेसहित प्राविधिक टोली लिएर बिहान–बेलुकी विभिन्न कृषकको खेतबारी र फर्ममा पुगेर छलफल तथा अन्तरक्रिया सुरु गरेका हुन् ।
प्रजिअ अर्यालका अनुसार यो अभियानको उद्देश्य किसानलाई आत्मनिर्भर बनाउन, रोजगारीका अवसर सिर्जना गर्न, कृषि क्षेत्रमा सुधारका सुझाव लिन र स्थानीय प्रशासन किसानको साथमा रहेको सन्देश दिन हो । कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेले यो अन्तरक्रिया प्रभावकारी हुने विश्वास व्यक्त गर्दै राज्यले गर्नुपर्ने सुधारका विषयमा किसानबाट प्रत्यक्ष सुझाव लिन पाइने बताए ।
भेटघाटमा स्थानीय किसानहरूले प्रजिअ र प्राविधिक टोलीलाई आफ्ना गुनासा सुनाएका छन् । सन्धिखर्क–८ का वरिष्ठ किसान पुस्करनाथ बन्जाडेका अनुसार किसानले अन्न, तरकारी, फलफूल, अन्डा, दुग्धजन्य वस्तु, बंगुरलगायत उत्पादनमा राज्यको अनुदानमा ‘झोले किसान’ बाट हुने भ्रष्टाचारबारे गुनासा राखेका छन् । उनीहरूले अनुगमन अभावमा वास्तविक किसान वञ्चित भएको र अनुदानको दुरुपयोग गर्ने फर्मलाई कालो सूचिमा राखी कारबाही गर्न माग गरेका छन् ।
सन्धिखर्क–१ का कृषक गोरख श्रेष्ठले बिचौलिया प्रथाले किसानलाई घाटा पु¥याइरहेको भन्दै यसको अन्त्यको माग गरे। कृषक अर्जुन भुसालले कृषि प्राविधिकको पहुँच अभावमा रासायनिक विषादीको अत्यधिक प्रयोग भइरहेको बताउँदै चेतनामूलक तालिमको आवश्यकता औंल्याए । कृषक दिपक नेपालीले वैज्ञानिक खेती प्रणाली नहुँदा अपेक्षित उत्पादन नबढेको र लागत बढ्दै तर मूल्य नपाउँदा लगानी उठ्न कठिन भएको बताए ।
बजार व्यवस्थापन अभावमा उत्पादन बिक्रीमा समस्या हुने गुनासा पनि किसानहरूले राखेका छन् । कृषक प्रेम भुसालका अनुसार व्यावसायिक खेती र पशुपालन बढे पनि बजारको राम्रो संरचना नहुँदा समस्या उत्पन्न भइरहेको छ । कृषि ज्ञान केन्द्र प्रमुख घिमिरेले किसानमा नयाँ सोच, सिप र प्रविधिबारे चेतना बढाउन घरदैलोमा पुगेर जानकारी दिने काम भइरहेको बताए ।
अर्घाखाँचीमा कार्यभार सम्हालेको एक महिनाभित्र प्रजिअ अर्यालले झन्डै एक दर्जन व्यावसायिक किसानको घरमै पुगेर प्रत्यक्ष अन्तरक्रिया गरिसकेका छन् ।