रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले नगरपालिकामा पारदर्शिता र सुशासनका आधारमा काम भइरहेको बताएका छन् ।
सोमबार नगरपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले आफू दैनिक कार्यालयमा उपस्थित भएर कामकाजमा सक्रिय रहेको जानकारी दिए ।
उनले नगर सभाबाट स्वीकृत कार्यक्रमहरू जनप्रतिनिधि र स्थानीय नागरिकको सहभागितामा पारदर्शी रुपमा सम्बन्धित वडामा सञ्चालन भइरहेको बताए । कर्मचारीहरूको हाजिरी र जिम्मेवारी पनि नगर सभाको निर्णय अनुसार रहेको उनको भनाइ थियो ।
नगर प्रमुख कार्यवाहक अमवेया खातुन र अन्य कर्मचारीहरूमाथि आएका आरोपहरूमा कुनै सत्यता नरहेको भन्दै नगरपालिकाले स्पष्टिकरण दिएको छ । सार्वजनिक खरिद, बजेट खर्च र टेन्डर प्रक्रियामा कानुनको पूर्ण पालना भएको र कुनै अनियमितता नगरेको पनि यादवले दाबी गरे ।
योजनासम्बन्धी प्रश्नमा उनले योजना प्रमुख विल्टु राय यादव कार्यालयमा नियमित उपस्थित नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको कारण जिम्मेवारीबाट हटाइएको बताए । यसपछि रामाशंकर यादवलाई जिम्मेवारी सुम्पिएको छ ।
स्थानीय पत्रपत्रिकामा प्रकाशित केही समाचारहरूलाई भ्रामक र आधारहीन ठहर गर्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी खण्डन गरेको छ । सवारी चालक, इन्धन वितरण तथा सेवा सुविधा सम्बन्धी आरोप पनि खण्डन गर्दै यादवले सरकारी सवारी साधनको प्रयोग कानुन अनुसार नै भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत यादवले निष्पक्षता र पारदर्शितामा कुनै सम्झौता नहुने स्पष्ट पारे ।