२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

चिया बगानमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ साउन २८ गते २०:५४
चिया बगानमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले वडा नम्बर १०, धनचौर सेङलेङमा रहेको चिया बगानमा गोडमेल गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । 

हरेक वर्ष अगस्ट १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालको आयोजनामा अर्घाखाँचीकै एक मात्र चिया बगानमा गोडमेल गरिएको हो ।

देउराली–लालिगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा रोपिएका २१ हजार चियाका बोट रहेको बगैचामा झारपात गोडमेल र बिरुवामा उकेरा लगाउने कार्य गरिएको भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले जानकारी दिए । 

संयोजक भुसालका अनुसार युवाको शक्ति, सृजनशीलता, उद्यमशीलता, सकारात्मक ऊर्जा र साझा प्रयासको भावना विकास गर्न युवा दिवसमार्फत युवालाई श्रममा जोडिएको हो । 

गोडमेलपछि आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा भूमिकास्थान नगरप्रमुख झविलाल थापाले भूमिकास्थानलाई कृषि पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने बताए । 

उनले प्राकृतिक र धार्मिक पर्यटकसँगै कृषि पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै व्यवसायिक कृषि, पर्यटन, उत्पादन र व्यापारलाई भूमिकास्थानको समृद्धिको आधारका रूपमा अघि बढाउने बताए । नगरप्रमुख थापाका अनुसार भूमिकास्थानले युवालाई रोजगारी र नागरिकलाई उत्पादनमा जोड्ने कर्मशील जनशक्ति परिचालन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । युवाले सकारात्मक सोचका साथ उत्पादन र श्रममा लागे मात्र भूमिकास्थानको समृद्धि सम्भव हुने भन्दै उनले सबैलाई समृद्धिका योजनामा जोडिन आग्रह गरे । 

थापाले सुपादउराली आएका पर्यटकलाई सेङलेङ ल्याई होमस्टेमा बसाल्ने, मसिनाको लेक, पाथिभरा मन्दिर, सेङलेङ दह र चिया बगान अवलोकन गराउने, अर्को दिन मृगस्थली झरना, शिद्धगुफा हुँदै भूमेकाथान मन्दिर पुर्याई स्वर्गद्धारी पठाउने योजनाबारे जानकारी दिँदै यसको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको औंल्याए ।

युवा दिवसको अवसरमा रचनात्मक र परिणाममुखी काम गर्न आफ्नो वडालाई रोजेको भन्दै वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थीले सहभागीलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, वडा नम्बर १ का अध्यक्ष गोपाल खनाल, वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद बनजाडे, वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थी, वडा नम्बर ५ का अध्यक्ष जयगोपाल श्रेष्ठ, वडा नम्बर ६ का कार्यबाहक अध्यक्ष चिन्ता बहादुर बस्नेत, वडा नम्बर ९ का अध्यक्ष खेमराज चुँदाली, वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थी, कार्यपालिका सदस्य गिर बहादुर नेपाली, वडा सदस्य जनकलाल गैरे, गंगा श्रेष्ठ, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रुद्रमणी भुसाल, युवा सञ्जालका युवा, सेङलेङका स्थानीय उपभोक्ता गरी करिब एक सय जनाको सहभागिता रहेको देउराली–लालिगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले जानकारी दिए । कार्यक्रम भूमिकास्थान नगरपालिकाका कृषिशाखा प्रमुख युवराज आचार्यको सहजीकरणमा सम्पन्न भएको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise