-दिलिपप्रताप खाँण
भदौ १८ गते नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत वडा स्तरिय अधिवेशन सहज रुपमा सम्पन्न भएको छ । जसमार्फत हामीले वडा कमिटी निर्माण गर्ने र क्षेत्रिय प्रतिनिधि चयन गर्ने काम सम्पन्न गरेका छौं । वडा अधिवेशनहरु समग्रमा प्रजातान्त्रिक मुल्य र मान्यताबाट सम्पन्न भएका छन् । पार्टीमा नेतृत्वदेखि नै गुटगत अभ्यास भएता पनि कार्यकर्ताहरुले गुटमा विभक्त भएर होइन् नेपाली कांग्रेसको कार्यकर्ता भएर आफ्नो अभिमत प्रकट गरेका छन् । पार्टीको आन्तरिक जीवनको नियमित प्रकृयाकै रुपमा हुन लागेको १४ औं महाधिवेशनले नयाँ विचार र नेतृत्वको निर्माण गर्छ । यो महाधिवेशन समाज विज्ञानकै नियमअनुसार थेसिस, एन्टीथेसिस र सेन्थेसिसको माध्यमबाट नै अगाडि बढ्छ र सम्पन्न हुन्छ भन्नेमा हामीले अनुमान गरेका छौं ।
महाधिवेशनमा राजनैतिक/वैचारिक पक्ष
२०१२ सालमा मात्रै राजनैतिक वैचारिक सुस्पष्टताका साथ नेपाली कांग्रेसको स्थापनमा भएको देखिन्छ । तत्कालिन समयमा प्रजातान्त्रिक समाजवादी विचारले अन्र्तराष्ट्रिय रुपान्तरणकारी आन्दोलनको नेतृत्व गरिराखेको थियो । अहिले पनि नेपाली कांग्रेस सोहि मान्यताको साथ अगाडि बढिरहेको छ । कांग्रेस, कम्युनिष्ट र अन्य सबै राजनैतिक पक्षहरुको सहभागितामा अहिले संविधानमा नै समाजवाद उन्मुख विषयलाई समावेश गरिएको छ । अबको सन्दर्भमा हामी कोही पनि सो मान्यताबाट विपरित जान सक्दैनौं । तर यसलाई कसरी व्यवहारिक रुपमा कार्यान्वयन गर्ने भन्ने विषय चाहिँ हाम्रासामु चुनौतिको रुपमा आएको छ । तर प्रजातान्त्रिक समाजवादी विचारमा नेपाली कांग्रेस स्पष्ट रहेको अवस्था छ । मानिसको जन्मजात मानव अधिकार, प्रजातन्त्र र समाजमा पिछडिएका मानिसको उत्थानका विषयलाई प्राथमिकता हुनुपर्ने समाजवादी चिन्तन हामीले राख्दै आएका छौं । फेरी यहिँनेर कार्यान्वयन पक्ष भने फितलो भएको छ ।
बदलिएको विश्व एवं राष्ट्रिय परिस्थितिलाई हेर्दा हामीले १४ औं महाधिवेशनको प्रक्रियामा वैचारिक बहसलाई पनि जोड दिन जरुरी छ । अहिले हाम्रो बहस व्यक्ति केन्द्रित भएका छन् । कुनै सिद्धान्त वा विचार बिना व्यक्तिलाई समर्थन वा आलोचना गर्ने प्रवृत्ति सम्पुर्णँ नेपाली राजनीति र नेपाली कांग्रेसमा झांगिदै गएको छ । हामी राजनीतिकर्मीहरु विचार राजनीतिभन्दा पनि व्यक्तिको पछि लाग्ने वातावरण निर्माण भइरहेको छ । विशेष गरि कम्युनिष्ट पार्टीहरुले विकास गरेको व्यक्ति केन्द्रित गलत राजनीतिक प्रवृति नेपाली कांग्रेसमा पनि उत्तिकै रुपमा भित्रिन पुगेको छ । राजनीतिको नेतृत्व तहमा रहेकाहरुले नै व्यक्ति विशेषलाई ठिक वा बेठिक भन्दै हिँडेको देखिन्छ । राजनैतिक नेतृत्वले वैचारिक नेतृत्व गर्न नसकेको जस्तो आभास भएको छ । तर सन्निकट भएको हाम्रो यो महाधिवेशनले आगामी राजनैतिक वैचारिक पक्ष र कार्यदिशालाई निर्माण गरेर नेपाली राजनीतिमा देखिएको गलत प्रवृत्तिलाई निरुत्साहित गरि विचार र विधिको राज्यव्यवस्थामा उत्कृष्टता योगदान पुर्याउनुपर्दछ ।
अहिले जुनसुकै पार्टीको केन्द्रिय तहमा विभिन्न प्रकारका माफिया र नवधनाड्यहरु पुगेर कर्मचारीतन्त्रलाई भ्रष्ट बनाउन लालायित देखिएका छन् । जुनसुकै दलको सरकार बनेपनि तिनको प्रभाव कायम हुने जुन परिस्थिति निर्माण भएको छ, यसलाई अब तोड्न जरुरी छ । त्यसप्रकारको अवस्थालाई तोडेर पार्टी निर्माण गर्न सकेमा मात्रै हाम्रा राजनैतिक एवं वैचारिक आदर्श एवं मान्यतालाई हामीले कार्यान्वयन गर्न सक्छौं । यो समस्या नेपाली कांग्रेसको मात्रै नभएर सबै दलमा रहेको समस्या वा राष्ट्रिय राजनैतिक समस्या हो । हाम्रो १४ औं महाधिवेशनले नयाँ नेतृत्व स्थापनाको माध्यमबाट त्यस्तो प्रकारको समस्यालाई तोड्नुपर्दछ ।
नेतृत्व चयन प्रकृया
पार्टीलाई जीवन्त बनाउने एउटा मात्रै नियमित प्रकृया महाधिवेशन हो । त्यसैले महाधिवेशनबाट नेतृत्व चयन प्रकृया अनिवार्य रुपमा प्रजातान्त्रिक मुल्य मान्यताको आधारमा स्पष्ट पारदर्शी ढंगले सम्पन्न हुनुपर्दछ । वडा स्तरका अधिवेशनले गुटबन्दी मानसिकता एवं मानसिकतालाई कमजोर बनाइदिएर कांग्रेस भनेर अगाडि बढ्नुपर्ने कुरालाई स्थापित गरिदिएको छ । यसले बाँकी संगठन तहको अधिवेशनलाई एउटा महत्वपुर्ण एवं सकारात्मक शन्देश दिइसकेको छ ।
अहिले कांग्रेसमा देउवा, कोइराला, बिमलेन्द्र, सिटौला आदि टिमको नाममा गतिविधि भइरहेको छ । यो राम्रो विषय होइन् । किनकी यसले पार्टीमा थप व्यक्तिवादी चरित्र हावी हुनपुग्छ । तर त्यो टिम वा आकांक्षी नेतृत्वले हामीलाई के स्पष्ट पार्नुपर्दछ भने महाधिवेशनको आगामी ४ वर्ष पार्टी सञ्चालन र सत्ता सञ्चालनमा उहाँहरुको विचार/दृष्टिकोण र भिन्न कार्यदिशा के हो ? विचार÷दृष्टिकोणको आधारमा जुन प्रक्षेपित विचार/दृष्टिकोण सहि छ त्यसकै आधारमा नेतृत्व चयन गर्ने वातावरण हामीले तयार गर्न जरुरी छ ।
केही नेतृत्व वा कार्यकर्ता पंक्तिबाट पनि अलिक छुद्रता स्वरुप कमजोर मानसिकता बोकेर गुट उपगुट बनाएर हिँड्ने गरेको पनि पाइन्छ । वर्तमान परिवेशमा यस प्रकारको गतिविधिलाई स्वभाविक रुपमा पनि लिन सकिन्छ । तर राजनीतिमा यस्तो प्रवृत्ति लामो समयसम्म टिक्दैन् । यो क्षणिक हुन्छ र यसले पार्टीलाई पनि फाइदा पुर्याउँदैन । नेपाली कांग्रेसमा आवद्ध एउटा जिम्मेवार एवं सक्रिय सदस्यको यतिवेला महत्वपुर्ण जिम्मेवारी थपिएको छ । पार्टीलाई शसक्त बनाउने, आफुले अंगिकार गरेको विचारलाई समर्थन गर्ने र गुटबाट माथि उठेर नेपाली कांग्रेसको जिम्मेवार सदस्यको रुपमा उभिएर भूमिका निर्वाह गर्न जरुरी छ ।
देशमा प्रजातान्त्रिक व्यवस्था र इतिहास निर्माणमा सबैभन्दा मुख्य भूमिका खेल्दै आएको लोकतान्त्रिक पार्टीको महाधिवेशनले नेपाली राष्ट्रिय राजनीतिमा पक्कैपनि तरंग सिर्जना गर्नेछ । किनकी कांग्रेसको मौजुदा संरचना र नेतृत्वमा केहि फेरबदल गर्नेछ । विपी हाम्रो पार्टी तथा नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा सर्वमान्य आदर्श व्यक्ति हुनुहुन्छ । महाधिवेशनको सन्दर्भमा उहाँले अगाडि सारेका सिद्धान्त एवं विचारहरुमाथि नयाँ सन्दर्भमा बहस गर्नु सान्दर्भिक देखिन्छ ।
विपीले अगाडि सार्नुभएको विषयमध्ये एउटा महत्वपुर्ण विषय भनेको राजतन्त्र जरुरी छ र राजतन्त्र भएन भने राष्ट्रियता संकटमा पर्नसक्दछ भन्ने हो । सो विषयलाई नेपाली कांग्रेसले लामो समयसम्म अंगिकार गरेर अगाडि पनि बढ्यो । देशमा अहिले गणतन्त्र आएको छ, हामी गणतन्त्रवादी भएका छौं । त्यो उचित थियो कि थिएन, बहस जरुरी छ । समग्र विश्व २१ औं शताब्दिमा अगाडि बढिरहेको सन्दर्भमा नेपाली कांग्रेसले आफुलाई समयानुकुल परिमार्जित गर्दै नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्दै अगाडि बढ्न जरुरी छ ।
(नेपाली कांग्रेश नेता खाँड वालिङ नगरपालिकाका मेयर हुन्)
(छलफलमा आधारित सम्पादन गरिएको ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies