२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

मन्त्री बन्ने र बनाउने होडबाजीमा लुम्बिनी प्रदेशका सांसदहरु

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २ गते २१:५९
मन्त्री बन्ने र बनाउने होडबाजीमा लुम्बिनी प्रदेशका सांसदहरु

भालुवाङ : केन्द्रमा नयाँ सरकार गठन भएपछि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरु  आफ्नो पाका सांसदहरूलाई मन्त्री बनाउनका लागि र बन्नका लागि आकांक्षासहित आफ्ना पार्टीका शिर्ष  नेताहरु समक्ष  लबिङका लागि काठमाडौंमा व्यस्त भएका छन् । 

अहिले प्रदेश तहका धेरै सांसदहरु नेताहरु काठमाडौं केन्द्रित छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर गठबन्धन बनाएको भोलिपल्टै नेता भेट्न काठमाडौं पुगेका नेपाली कांग्रेस संसदीय नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौंबाट जिल्ला फर्केर फेरि  अहिले दोस्रोपटक आइतबार काठमाडौं पुगिसकेका छन्  । नेपाली  कांग्रेस लुम्बिनी  प्रदेश सभापति अमर पुन अहिले काठमाडौं पुगेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री कांग्रेसको पोल्टामा पार्न तीव्र लभिङमा लागेको उनी निकट नेताहरु बताउँछन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नेता सांसद राजु खनाल, कांग्रेस युवा नेता सांसद रोज राणा, कांग्रेस सचेतक निमा गिरी, सांसद जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपाने, राजु खनाल, देवी चौधरी, धनेन्द्र कार्की लगायत सांसद पनि मन्त्रीका लागि केन्द्रीय नेताहरुसँग लबिङ गर्न काठमाडौं पुगेका छन् ।

नेपाली कांग्रेसका सांसद रोज राणा सरकार फेरवदल केन्द्रमा भएपछि काठमाडौं पुगेका थिए । 

उनी अहिले पनि लभिङमा छन् । कांग्रेस लुम्बिनी प्रदेश  सचेतक निमा गिरीले आफू काठमाडौं गएको १ हप्ता  भएको बताइन् । अझै ८/१० दिन व्यक्तिगत काम पनि भएकोले काठमाडौंमै बस्ने उनले बताइन् । 

गिरी निजी कामले काठमाडौं गएको भन्दै सत्ता फेरबदल भएकाले यस्तो बेला नेताहरू भेट्नु मन्त्रीमा इच्छा भएको व्यक्तिले राख्नु स्वाभाविक रहेको प्रतिक्रिया दिइन् । 

लुम्बिनी सरकारमा माओवादीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका अधिकांश उच्च तहका नेताहरु, सांसदहरु  मन्त्रीका लागि दौडधुपमा लागि रहेको भएपनि कांग्रेसका  सांसद जस्तो एमालेका सांसद धेरै काठमाडौं नपुगी फोनमा आफु निकट केन्द्रीय नेतामार्फत  मन्त्रीका लागि लभिङ गरिरहेका छन् । 

केन्द्रमा नेपाली कांग्रेस, नेकपा एमालेका शिर्ष नेताहरुको बीचमा भएको उच्चस्तरीय सहमति अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने निश्चित भएपनि एमालेभित्र देखिएको गुटका कारण अझै फेरवदल हुने प्रवल सम्भावना छ । 

केन्द्रको सहमति अनुसार एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री पाउनेमा विश्वस्त रहेपनि उनलाई रोकेर संसदीय दलका उपनेता चेतनारायण आचर्यलाई मुख्यमन्त्री बनाउनका लागि एमालेभित्र शक्तिशाली टिम लागेको कारण गिरीलाई पार्टी भित्रबाट पनि मुख्यमन्त्री बन्न त्यति सहज नहुने एक नेताले दाबी गरे ।

एमालेका नेता लीला गिरी भने अब आफु संसदीय दल नेताका हैसियतमा मुख्यमन्त्री बन्ने निश्चित भएको बताउँछन् ।  लुम्बिनी प्रदेशका एमाले  सांसदहरू भने  मन्त्रीका लागि पार्टी उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोख्रेलमार्फत मन्त्रीका लागि पहल गरिरहेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेका प्रत्यक्ष १९ र समानुपातिक १० गरी २९ सांसद छन् । अहिले धेरै सांसदले  एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसँग मन्त्रीका लागि पहल गर्न आग्रह गर्दै बिहान बेलुका मन्त्रीका लागि नेताहरुको घर दैलो पुग्ने गरेका छन् ।

एमाले संसदीय दलका नेता गिरीले दोस्रो प्रदेशसभा निर्वाचनपछि बनेको पहिलो सरकारको ३ महिना   मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गरेका थिए । 

त्यसपछि सरकार परिवर्तन भएपछि कांग्रेस  माओवादीको संयुक्त सरकारमा कांग्रेस संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीले सरकारको नेतृत्व गरेका थिए । त्यतिबेला एमाले प्रमुख प्रतिपक्षको भूमिकामा थियोे भने माओवादी सत्ता साझेदार दल बनेको थियो  ।

सत्ता समीकरण परिवर्तनपछि माओवादीका जोखबहादुर महराको नेतृत्वमा सरकार गठन भएपछि उक्त सरकारमा एमालेका ५ जना मन्त्री बनेका थिए ।

अहिले एमालेबाट भए मुख्यमन्त्री नभए शक्तिशाली मन्त्रालयको मन्त्री बन्न चेतनारायण आचार्य, विष्णु पन्थी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, खेम सारु, तुलसी प्रसाद चौधरी, बसन्ती न्यौपाने, जानकी न्यौपाने, सीता शर्मा, रामजी घिमिरे लगायतका सांसदहरु दौडधुपमा छन् ।

८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा कांग्रेस र एमालेको ५६ सिट छ । त्यस आधारमा मुख्यमन्त्री जोखबहादुर महराले एमाले, कांग्रेसको समर्थन विना बहुमत पुर्‍याउन सक्दैनन् ।

एमाले केन्द्रीय सदस्य पूर्वमन्त्री चेतनारायण आचार्यले  सरकार गठन हुँदा सांसदहरूले मन्त्रीका लागि पार्टीभित्र इच्छा जाहेर गर्दै नेताहरूसँग भेटघाट गर्नु स्वाभाविक रहेको  र आफुले पनि नेताहरुसँग छलफल गरिरहेको बताए ।

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महाराले विश्वास मत लिने या राजीनामा गर्ने भन्ने अझै प्रष्ट भइसकेको छैन । यद्यपी माओवादी प्रमुख सचेतक इन्द्रजित थारुले विश्वासको मतका लागि संसद फेस गर्ने माओवादीले तयारी गरेको दावी गरे ।

८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा कांग्रेस र एमालेको ५६ सिट छ । त्यस आधारमा मुख्यमन्त्री महराले एमाले, कांग्रेसको समर्थन विना बहुमत पुर्‍याउन सक्दैनन् लुम्बिनी सरकार अहिले पनि अल्पमतमा छ । सरकार फेरबदल हुने भएपछि अहिले प्रदेशमा उच्च तहका कर्मचारीहरु बिदा बस्ने गरेका छन् । अहिले मन्त्रालयहरुमा सुनसान छ ।

ADVADV

सम्बन्धित खबर

Advertise