अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिकामा हालसालै सरुवा भइ हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई विशेष कार्यक्रममार्फत स्वागत गरिएको छ ।
बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख छबिलाल पौडेल, उपप्रमुख गिता भाट, वडाध्यक्ष, जनप्रतिनिधि, प्रशासनिक अधिकृत तथा योजना शाखा प्रमुख नुमलाल खनाल लगायतका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जनप्रतिनिधि र कर्मचारीबीचको सहमति, सहकार्य र एकताको माध्यमबाट मात्र नागरिकको चाहना अनुसारको विकास सम्भव हुने भएकाले कर्मचारीलाई समर्पणपूर्वक काम गर्न आग्रह गरे । नगरउपप्रमुख गिता भाटले शीतगंगालाई समग्र विकास र समृद्ध नगर बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुने बताइन् ।
स्वागतपछि आफ्नो धारणा राख्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले ‘हाम्रो नगर पालिका नभइ राम्रो नगरपालिका’ निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरको विकास र समृद्धि तीव्र बनाउन सहकार्य, समन्वय र पारदर्शितामा आधारित प्रशासनिक अभ्यास गर्ने स्पष्ट गरे ।
‘सरकारी काम कहिले जाला घाम भन्ने सोच हटाएर योजना र मिति तोकेर अघि बढ्नुपर्ने आवश्यकता छ । म परिवर्तन गरेर देखाउनेछु,’सापकोटाले भने । उनले विकट भौगोलिक क्षेत्र र सीमित जनशक्ति हुँदाहुँदै पनि प्रदेश र संघीय सरकारसँग बजेट तथा विकासका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले सरसफाइमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै स्थानीय तहमा ‘असारे चटारो’ मात्र गर्ने परम्परा तोड्दै चैत मसान्तसम्म विकासे काम सम्पन्न गर्ने गरी अघि बढ्ने बताए ।
यसअघि विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सफलतापूर्वक काम गरिसकेका सापकोटा अनुभवी प्रशासकका रूपमा चिनिन्छन् । उनको अनुभव र नेतृत्व क्षमताले शितगंगामा प्रभावकारी प्रशासनिक भूमिका खेल्ने विश्वास नगरवासीले व्यक्त गरेका छन् ।