२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मधेश प्रदेशमा गुम्यो एकछत्र जसपा नेपालको नेतृत्व

ADV
दिवाकर अधिकारी
२०८१ जेठ २४ गते ०६:५०
मधेश प्रदेशमा गुम्यो एकछत्र जसपा नेपालको नेतृत्व

काठमाडौं : मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । यो सँगै मधेश प्रदेशमा मा एकछत्र नेतृत्व गर्नै आएको जसपा नेपालको यात्रामा ब्रेक लागेको छ । 

२०७४ सालदेखि निन्तर मधेश प्रदेशको नेतृत्वमा रहेको जसपा नेपाल सत्ताबाहिर पुग्ने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएसँगै दलहरु वैकल्पिक सरकार गठनको प्रयासमा लागेका छन् ।

मुख्यमन्त्री यादवले बुधबार मधेश प्रदेशसभामा मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिए । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मतदान गरे ।

१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ । बुधबारको मतदानमा १÷१ सिटको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसद अनुपस्थित थिए ।

विपक्षमा रहेका दलहरु नयाँ सरकार गठनको प्रयासमा छन् । जसपा नेपालले आफ्नो सरकार जोगाउन निरन्तर प्रयास गरेको थियो । जसपा नेपाल प्रदेश सभाको बाँकी कार्यकाल पनि निरन्तर नेतृत्व गर्न चाहन्थ्यो । २०७४ को चुनाव पछाडि जसपा नेपालका लालबाबु राउतले पाँच वर्ष प्रदेश सरकारको नेतृत्व गरेका थिए । 

जसपा नेपालको निरन्तरको नेतृत्वमा ब्रेक संघीय सत्तागठबन्धनमा रहेका दलहरुले लगाउन खोजेका हुन् । 

२३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए ।

गठबन्धन फेर बदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित थिए । तर, पाँचौपटक विश्वासको मत लिने बेला उनी मुख्यमन्त्री पद गुमाउन पुगेका हुन् ।

गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए । उनले बुधबार पाँचौपटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेश गरेका थिए । तर बहुमतले अस्वीकृत भएको छ । योसँगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise