
पेटालिङ जाया, मलेसिया : मलेसियामा विदेशी नागरिकका घर तथा व्यापारिक प्रतिष्ठानलाई निशाना बनाएर हतियारसहित लुटपाट गर्ने गरेको आरोप लागेको ‘ग्याङ सुरिया’ समूहविरुद्ध प्रहरीले कारबाही गरेको छ। बुकित अमानको नेतृत्वमा सञ्चालन गरिएको संयुक्त प्रहरी अभियानमा उक्त समूहका ६ जना सदस्य पक्राउ परेका छन्।
बुकित अमानको आपराधिक अनुसन्धान विभाग (सीआईडी) का निर्देशक कमिस्नर दातुक एम. कुमारका अनुसार ‘अप्स सनसेट’ नाम दिइएको उक्त अभियानमा बुकित अमान र केडाह राज्यका प्रहरीको सहभागिता थियो। प्रहरीले गत सेप्टेम्बर २४ देखि २७ सम्म केडाह र पेराकका विभिन्न स्थानमा छापा मारेको थियो।
प्रहरी अनुसन्धानअनुसार नौ सदस्यीय उक्त समूहको नेतृत्व ३० वर्षीय एक स्थानीय नागरिकले गर्दै आएका थिए। सन् २०२४ को सुरुवातदेखि सक्रिय रहेको भनिएको उक्त समूह केडाह राज्यमा भएका सम्पत्ति लुटपाट तथा हिंसात्मक अपराधका २० घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार समूहले विशेषगरी विदेशी नागरिकका घर, व्यापारिक प्रतिष्ठान तथा आवासीय क्षेत्रमा रहेका सम्पत्तिलाई निशाना बनाउने गरेको थियो। समूहका नेताले पहिचान गरेका स्थानमा सदस्यहरू पुगेर लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
लुटपाटका क्रममा समूहका सदस्यहरूले चक्कु तथा माचेटेजस्ता धारिला हतियार प्रयोग गर्ने र पीडितलाई चोट पुर्याउनसमेत पछि नहट्ने गरेको प्रहरीको भनाइ छ। घटनाका क्रममा केही पीडित गम्भीर घाइते भएको र यस्ता गतिविधिले पीडितहरूमा भय तथा मानसिक आघात सिर्जना गरेको प्रहरीले जनाएको छ।
लुटपाटबाट प्राप्त सामान नगदमा बिक्री गरी त्यसबाट आएको रकम समूहका सदस्यहरूको संलग्नताका आधारमा बाँडफाँट गर्ने गरेको पनि अनुसन्धानमा खुलेको बताइएको छ।
पक्राउ परेका छ जना संदिग्धलाई सुरक्षा अपराध (विशेष उपाय) ऐन २०१२ अन्तर्गत अक्टोबर २५ सम्म हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
यसैबीच, समूहका अन्य तीन सदस्य भने सवारीसाधन चोरी, घरफोडी, लागुऔषध, सामूहिक लुटपाट तथा धारिलो हतियार प्रयोग गरी गम्भीर चोट पुर्याउनेलगायतका अन्य आपराधिक मुद्दामा यसअघि नै हिरासतमा रहेको बताइएको छ। उनीहरू क्रमशः सुंगाई बुलोह, पोकोक सेना र सुंगाई पेटानीका कारागारमा रहेका छन्।
प्रहरीका अनुसार ग्याङ सुरियाका नौ सदस्यलाई अक्टोबर २२ मा केडाह राज्यको सुंगाई पेटानी सेसन्स अदालतमा अभियोग लगाउने तयारी गरिएको छ।
प्रहरी अधिकारी कुमारले मलेसियाली समाजको शान्ति, सुरक्षा र जनकल्याण सुनिश्चित गर्न संगठित अपराधमा संलग्न व्यक्ति तथा समूहविरुद्ध निरन्तर कारबाही गरिने बताएका छन्।