२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बुटवल बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ३ गते २२:२८
बुटवल बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालन

बुटवल : बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधा सम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो ।

स्नानगृहको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका छन् । उनले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ सुविधासम्पन्न स्नानगृह सञ्चालनमा ल्याएको बताए । उनले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेशन, कोशेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताए । 

‘हाइमास्ट लाइट जडान भइसकेर परीक्षणको क्रममा रहेको छ, विद्युतीय गाडीहरुको चार्जिङ स्टेशन सञ्चालनमा आएका छन्,’उनले भने,‘क्यान्टिन अब छिट्टै सञ्चालन हुनेछ, भने कोशेली भवन र पार्किङ भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

उनले बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यसअनुसारका सुविधाहरु थप गर्दै लगेको बताए । ‘बसपार्कको सरसफाइ गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिट्टै नै अगाडि बढाउँछौं,’ उनले भने, ‘बसपार्कलाई सफा राख्ने र सुरक्षित राख्ने काममा यहाँका समितिहरु पनि उत्तिकै सक्रिय हुन जरुरी छ ।’ उनले सरसफाइमा नियमित रुपले खटिन व्यवसायीहरुलाई आग्रह गरे । 

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताए । उनले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफुहरुको साथ रहने बताए ।

बसपार्कमा निर्माण भएको स्नानघरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपांगमैत्री शौचालय रहेका छन् । 

स्नानगृहमा मौसम अनुसार चिसोतातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नानगृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise