२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बुटवल सडकको प्रगति : ८८ प्रतिशत बजेट खर्च, गोलपार्क सडकको ठेक्का रद्द

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ४ गते २०:५२
बुटवल सडकको प्रगति : ८८ प्रतिशत बजेट खर्च, गोलपार्क सडकको ठेक्का रद्द

बुटवल : बुटवल सडक कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८०/८१ मा ८८ प्रतिशत बजेट खर्च गरी उत्कृष्टको सूचीमा पर्न सफल भएको छ । 

बुटवल सडकमा गएको वर्ष ९४ करोड बजेट विनियोजन भएकोमा सो बजेटमध्ये ८२ करोड बजेट खर्च गरी उत्कृष्ट काम गर्ने सडकको सूचीमा पर्न सफल भएको छ । बुटवल सडकले अहिले आर्थिक वर्ष शुरु हुनासाथ कामलाई दु्रत गतिमा अगाडि बढाएको छ । 

बुटवल सडकले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सात वर्षसम्म समय पाउँदा पनि पूरा नभएपछि निर्माण व्यवसायीको ठेक्का रद्द गरी नयाँ ठेक्का निकालिएको बुटवल सडकका सिनियर डिभिजन इन्जिनियर विसुनदास लामाले जानकारी दिए ।

बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन जेभी प्रालिले ठेक्का पाएपछि सम्झौता गरी काम नगरी आलटाल गर्दै आएको थियोे ।

बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३.२५ किलोमिटर सडक ६ लेनमा विस्तारका लागि लामो समय ठेकेदारले अलपत्र पारेपछि त्यो ठेक्का रद्द गरेर नयाँ ठेक्काको आह्वान गरिएको  सडकका सिनियर डिभिजन इन्जिनियर लामाको भनाइ छ । 

पुरानो निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेपछि त्यो ठेक्का तोडेर नयाँ ठेक्का आह्वान भएकोले अब कामले निरन्तरता पाउने अपेक्षा बुटवलबासीले गरेका छन् ।

काम नगर्ने जालझेल षड्यन्त्र गरेर बुटवलवासीलाई दुःख दिने  निर्माण व्यवसायीको ठेक्का तोडिएपछि खुसी भएका बुटवलबासी यो सडक खण्डको निर्माणले अब बिना झन्झट गति लिनुपर्नेमा आशावादी भएको स्थानीय हिरा केसीले बताए । सडक डिभिजन कार्यालय बुटवलका डिभिजन  इन्जिनियर लामाले सडक अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी उसको ठेक्का रद्द गरेर नयाँ टेन्डर आह्वान गरिएकोले बुटवलबासीको चाहना अनुसार काम गर्ने बताए  ।

६ महिनाभित्र काम सक्ने गरी ५८ करोडमा यो सडकको पुनः टेन्डर गरिएकोले त्यस्तै स्पिडमा काम गर्ने निर्माण व्यवसायीले ठेक्का हालेमा काम छिटो हुने उनले दाबी गरे ।

२०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्डपछि ६ लेनमा विस्तार गर्ने योजना अघि बढेको थियो । उक्त योजना अनुसार ६ लेन सडकको काम शुरु भएर हालसम्म पूरा नहुँदा यस क्षेत्र अस्तव्यस्त रहेको भन्दै सडकको आलोचना हुने गरेको थियोे । काम अलपत्र हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका थिए ।

सडकको काममा हालसम्म करिब ३५ करोड रुपैयाँ खर्च भइसकेको  लामाले बताए । तर, आधा पनि काम भएको छैन । मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डीबीएमको काम मात्रै भएको छ । मुख्य पिचको काम त शुरु भएकै छैन । यो सडकमा अन्तर्राष्ट्रिय स्तरको अस्फाल्ट पिच गर्ने योजना अनुसार काम हुने लामाले बताए ।

सुरुका केही वर्ष साइट क्लियर नहुँदा र मुद्दा मामिलाको झमेला हुँदा निर्माण कार्य प्रभावित भएको थियो । पछि यी सबै समस्या समाधान हुँदासमेत कामले गति लिन सकेन । सम्झौताअनुसार २०७६ असोज १२ गतेसम्म सक्नुपर्ने थियो  तर, काम नभएपनि ठेकेदारले म्याद भने थपेको थपै गरेर अहिले ०८० चैत मसान्तसम्म पुर्‍याएको थियो । 

कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँमा ठेक्का पाएको यो सडक पूरा गर्न सो कम्पनीसँग ०७६ सम्ममा सडक विस्तार सक्ने गरी १७ चैत ०७३ मा ठेक्का सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म विस्तार सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेपछि सबै भन्दा खुसी बुटवलबासी छन् । 

निर्माण कम्पनीले काम अलपत्र पार्नुका साथै दिएको निर्देशनसमेत बेवास्ता गरेपछि ठेक्का नै रद्द गरेर नयाँ टेन्डरको गरिएको इन्जिनियर लम्सालले बताए । वैशाख १३ गते ठेकेदारको ठेक्का रद्द गरिएपछि यो रोक्न अदालत गए पनि त्यहाँबाट अन्तरिम आदेश नआएपछि नयाँ टेन्डर आह्वान गरिएको हो ।

कार्यालयका अनुसार १२ असोज ०७६ मा निर्माण सम्पन्न गर्ने गरी सो सम्झौता भएको थियो । ठेक्का सम्झौताका वेला सडक कार्यालयमा पेस गरेको निर्माण कार्य तालिकाअनुसार काम नभएपछि वर्षौं बित्दा पनि कामले गति लिन सकेन । निर्माणाधीन साइटमा अवरोधदेखि कोभिड महामारीको प्रभावसमेत परेपछि पटक–पटक गरेर म्याद थप गरिएको थियो ।

हालसम्म आर्थिक प्रगति ५० दशमलव ७७ प्रतिशत तथा भौतिक प्रगति जम्मा ५४ प्रतिशत रहेको छ, पटक–पटक म्याद थप गर्दा पछिल्लो पटक ३१ असार २०८० मा काम सम्पन्न गर्नुपर्ने थियो, तर काम नै अलपत्र पार्ने काम भएपछि ठेक्का नै रद्द गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise