–कोषवल्लभ रेग्मी
“आमा आज त जाउलीको भात खाने है !”
“आज म मीठो कुराउनी पापा भात पकाउँछु, त्यही खानुपर्छ ।” मेरो कुरा पुराहुन नपाई मकैको पिठोको ढिँडो हुँडल्दै आमाले भन्नुहुन्थ्यो । हामीले मीठो मानेर खान्थ्यौ ।
उ बेलाको समय नै दुःखी थियो । हाम्रो गरिब परिवार । बा, हामी सानो छँदा बित्नु भएको । बाको अभाव हामीलाई महशुस भएन । हाम्रो लागि सबैथोक आमाले पूरा गर्नु भएको थियो ।
कुनै बेला मेलापात या कतैबाट फर्कदा रात पर्न सक्थ्यो, कहिले हुरी बतास चल्थ्यो । त्यो बेला आँगनको डिलमा बसेर “आमा ! आमा !” भन्दै बोलाउने गर्थें म । केही छिनमै “किन कराएको म आइहाले नि” भन्दै भिजेर निथ्रुक्क हँुदै आमा आइपुग्नु हुन्थ्यो र हामीलाई खुवाई पिलाई सुताउनु हुन्थ्यो । तर, आमाले कति खानुहुन्थ्यो या खानुहुन्नथ्यो हामीलाई थाहा थिएन ।
आमा बजारबाट फर्कंदा चौबन्दी चोलीको गोजीबाट झिकेर राता/सेता मिठाइ दिनुहुन्थ्यो । त्यो बेलामा चक्लेट÷बिस्कुट जस्ता मिठाइ हुँदैनथे । ती मिठाइ खाँदा म कति खुशी हुन्थे ।
एकदिन राम नवमीको रात हुरीका साथ ठूलो पानी पर्यो । हामी मस्त निन्द्रामा थियौँ । घरको छानो सबै उडाएर हुरीले बारीको पाटामा फालेछ । यो संकटमा आमाले हामीलाई उठाएर कुनै सुरक्षित ठाउँमा लगेर सुताउनु भएछ ।
हामी त आमाको पासमा थियौँ ढुक्क थियो तर, त्यो बेलामा आमालाई कस्तो भएको थियो, के थाहा ? बिहान घरको छाना उडाएको हेर्न आएका मध्ये कोही “बिचरा” भन्दै थिए त कोही कानेखुसी गर्दै हाँस्दै थिए ।
म स्कुल जाने भइसकेको थिएँ । एक दिन मेरो कपाल मुसार्दै स्कुल जाने बेला आमाले भन्नू भयो “बाबू ! धेरै पढेर तल्ला घरे काकालाई जस्तै मलाई पनि तिर्थ घुमाउन लैजानु है !” म खुशीले गदगद हुँदै “हुन्छ आमा” भन्दै उफ्रदै स्कुल जान्थे ।
धेरै दुःखले आमाले मलाई पढाउनु भयो । कालान्तरमा म सरकारी जागिरे पनि बने । ऊ बेलामा आमाको खुशीको सीमा रहेन ।
एकदिन मतिर फर्केर आमाले भन्नुभयो “यसो तिर्थ कतै जान पाए यो चोला सफल हुन्थ्यो होला !” आमाको कुरा सुनेर मैले “आ घुमेर के फाइदा ? यहीँ बसेर खानुपर्छ । घुम्दा खर्चको नास” भन्दिएँ । आमा “होला तँ पढेको मान्छे” भन्दै अर्को पट्टी फर्कनु भएको थियो त्यतिबेला ।
ऐले थाहा भयो, म कहाँसम्मको मुर्ख विद्वान रहेछु । कस्तो दुःख पीडामा पनि कति बिचलित नभई मेरो छोरा भन्दै खाइ नखाई पढाएर मलाई जागिरेसम्म बनाइदिने मेरी आमाभन्दा म बाठो भएर आमाको मनोभावनाको अनादर गर्ने विद्वान छोरो म धिक्कार छ !
आज मलाई पश्चातापले छाती पोलिरहेछ । तर, के गर्नु समय फर्कँदैन रहेछ ।
आमाले मलाई सबै थोक दिनुभयो । तर, मैले सक्ने भएर पनि आमाको लागि केही दिन सकिन । छोरो हुँ हजुरको मलाई माफ त अवश्य दिनुहुनेछ ।
आज “महापर्वणे तिथा” पुरोहितको यो वाच्यसँगै एउटा पिण्डमाथि दुई थोपा आँसु झार्नु शिवाय मैले आमाको नाममा केही गर्न सकिन !