२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नयाँ प्रविधिको प्रयोगले सडकमा यात्रुलाई सुरक्षित महसुस

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ५ गते २१:४१
नयाँ प्रविधिको प्रयोगले सडकमा यात्रुलाई सुरक्षित महसुस

अर्घाखाँची : नयाँ प्रविधिबाट शिवपुर सडक कार्यालयले बाटो विस्तारको काम गरेसँगै अत्यन्तै अप्ठ्यारो सडकमा यात्रुहरुले निकै सुरक्षित महसुस गरेका छन् ।

सुपादेउराली आसपासको क्षेत्रमा कडा चट्टानका कारण बाटो चौडा गर्न कठिन भएपछि सडकमा नयाँ प्रविधि प्रयोग गरेर ड्रिल गरेर बाटो विस्तारको काम भएको शिवपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर  विवशबाबु सदादेवले बताए । 

यस स्थानमा सडक अब झण्डै ९ मिटर चौडा हुने गरी काम भएकोले सडक नमुना बन्न लागेको स्थानीयबासी फर्स बहादुर केसीले बताए ।

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्क जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण सडक  गोरुसिङे सन्धिखर्क सडकको सुपा नजिक लाउरे बजारदेखि सुपा मन्दिरसम्म करिब २ सय मिटर कडा चट्टान र भिरालोका कारण सडक साघुँरो भइ यातायात आवागमनमा निकै कठिनाइ बेहोर्नु परेको यात्रुहरुले गुनासो गरेपछि सडकको काम नयाँ प्रविधिबाट शुरु गरी सम्पन्न गरिएको शिवपुर सडक डिभिजन प्रमुख सदादेवले दाबी गरे । 

सडक डिभिजन शिवपुर, कपिलवस्तुले गएको वर्ष टेन्डर गरी काम सम्पन्न गरेको हो । पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ । गएको वर्ष साघुँरो सडक, खाल्टा खुल्टिका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेकोले गोरुसिंगे सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गरी धेरै ठाउँमा बाटोको काम सम्पन्न गरिएको छ ।

गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर रहेको छ । गोरुसिंगेबाट पिरापानीसम्म झण्डै १५ किलोमिटर सडक विस्तार तथा मर्मतको कार्य सम्पन्न भएको छ  । अरु ठाउँमा पनि  ५ वटा निर्माण कम्पनीले मर्मत तथा सडक विस्तार र निर्माणको कार्य सम्पन्न गरेकोले सडक अहिले निकै राम्रो सुरक्षित भएको छ । गएको  आर्थिक वर्ष असार मसान्तसम्म  झण्डै १७ किलोमिटर सडकमा नयाँ पिच सम्पन्न भएको छ । सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड, खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरिएकोले काम सम्पन्न भएको म्याद थप गर्न नपरेको डिभिजन प्रमुख सदादेवको भनाइ छ ।

नरपानीदेखि घुम्तीसम्मको सडकमा झण्डै ५ किलोमिटरमा नाली निर्माण तथा कालोपत्रेको काम सिद्धार्थ सुदर्शन विल्डर्सले सम्पन्न गरेको छ । घुम्तीदेखि फुद्बांग सडकमा अम्मर लेकाली जेभीले काम सम्पन्न गरेको छ । 

फुद्बांग सन्धिखर्क सडकमा इन्द्र निर्माण कम्पनीले सडक विस्तार तथा मर्मतको काम सम्पन्न गरेको छ । यसले झण्डै ४ किमी सडकमा नाली तथा पिचको काम सम्पन्न गरेको हो । हिलेखोलादेखि पत्थरकोटसम्म खनाल निर्माण सेवाले कालोपत्रे तथा नालीको काम पाँच महिनाअघि सम्पन्न गरेको थियो । पिरापानीदेखि नरपानीसम्म श्रीकृष्ण कमल निर्माण सेवाले स्टकचर, सेलेभ निर्माण तथा पिचको काम गरेको थियो ।

सबै ठाउँमा ७ मिटर सडक निर्माण गरी दुईतर्फी सवारीसाधनहरू बिना रोकतोक सञ्चालन हुने गरी सडक निर्माण कार्य भइरहेको छ । गएको  वर्ष झण्डै ३३ करोडको सडक निर्माण काम सम्पन्न भएको छ । तर, निर्माण व्यवसायीले घटिघटाउमा योभन्दा कम लागतमा सडक निर्माणको सम्झौता गरी सडक निर्माण कार्य भएपछि राज्यलाई भार कम परेको छ ।

गोरुसिंगे– सन्धिखर्क सडकअन्तर्गत नरपानी फुद्बाङ खण्डको करिब ९ किलोमिटर सडकसहित जिल्लाका अन्य सडकहरू कालोपत्रे गर्नका लागि अर्घाखाँचीमा पहिलो पटक स्थायी रूपमा अस्फाल्ट प्लान्ट स्टल गर्ने कार्यको सुरुवात गरिएकोले कालोपत्रे गर्न सहज भएको निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसालले बताए । 

गोरुसिंगे सन्धिखर्क सडकमा बाँकी रहेका सबै ठाउँहरुमा यस वर्ष कालोपत्रे गर्ने मर्मत सुधार विस्तारका लागि टेण्डर गर्ने तयारी छ । यो सडकलाई शिवपुर सडकले पनि निकै महत्वपूर्ण सडकको रुपमा कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । यता चनौटा सुरइखोला धानखोला प्रदेश राजधानी जोड्ने सडकको मर्मत कार्यपनि धेरै ठाउँमा सम्पन्न भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise