२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वन्यजन्तु पीडित परिवारले पाए क्षतिबापतको राहत रकम

ADV
सन्तोष पौडेल
२०८१ साउन ५ गते २१:४५
वन्यजन्तु पीडित परिवारले पाए क्षतिबापतको राहत रकम

बर्दिया : बर्दियामा वन्यजन्तुबाट पीडित परिवारका सदस्यलाई सरकारले क्षति बापतको राहत प्रदान गरेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकाका गरी ४ परिवारका सदस्यलाई चेकमार्फत राहत प्रदान गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा वन्यजन्तुको आक्रमणमा परी मृत्युवरण गरेका तथा घाइते भएका परिवारलाई राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ का मृतक कलि बंशी मगरका छोरा प्रेम वंशी, ५ का मृतक गायत्री डाँगीका श्रीमान नारायण कुमार डाँगी, र बारबर्दिया नगरपालिका वडा नम्बर ४ का मृतक सुमित थारुका बुबा राम शंकर थारुलाई जनही ८ लाख रुपैयाँको चेक प्रदान गरिएको छ भने बारबर्दिया नगरपालिका वडा नम्बर ३ का घाइते साहिल सुनारका बुबा प्रेम बहादुर सुनारलाई रु. १ लाख ५० हजारकोे चेक प्रदान गरिएको छ ।

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा डिभिजन वन कार्यलय बर्दियाको समन्वयमा गुलरियास्थित एक होटलमा आयोजित वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण कार्यक्रममा उनीहरुलाई राहत रकम वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले हरेक वर्ष वन्यजन्तुको आक्रमणले मानविय क्षति भइरहेकाले निर्वाचित जनप्रतिनिधिहरुले नीतिगत तहमै योजना बनाउनुपर्ने बताए ।

उनले मानिसहरुलाई वनजंगलको पहुँचबाट टाढा राखी उनीहरुका आवश्यकता पूरा गर्नेतर्फ सोच्नुपर्ने बताउँदै जंगल नजिक रहेका अव्यवस्थित बस्तीलाई व्यवस्थित गरी स्थानान्तरण गर्ने र उनीहरुको जिविकोपार्जनमा सहयोग पुग्ने तरिकाले काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘वर्तमान समयमा २०६९ सालमा बनेका राहत निर्देशिकामा पछिल्लो समय २०८० मा संशोधन भइ सोही अनुसार राहत वितरण भइरहेको छ । समय सापेक्ष निर्देशिका संशोधन गर्दे अघि बढ्न आवश्यक छ ।’

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले बर्दिया जिल्ला वन्यजन्तुबाट पीडित भएको हुँदा आफुले निरन्तर आवाज उठाइरहेको बताए ।  उनले बर्दियाबाट निर्वाचित जनप्रतिनिधीहरुले बर्दियाका पीडित परिवारको न्यायका लागि पहल गर्दै आइरहेको बताउँदै जनताको सेवाका लागि आफुलाई निर्वाचित गराइएकोले आफुले बर्दियाका विकास र समृद्धिका लागि सधैँ अग्रसरता लिने प्रतिबद्धता जनाए ।

डिभिजन वन कार्यलय बर्दियाका प्रमुख प्रविण विडारीले बर्दियाका स्थानीय जनप्रतिनिधि तथा संचारकर्मीहरुबाट पाएको सहयोग पाएको सहयोगको प्रशंसा गर्दै वन संरक्षण तथा वन्यजन्तुबाट जोगिन र पीडित परिवारको राहतका लागि बर्दियाबाट निर्वाचित भइ प्रदेशमा पुग्नु भएको जनप्रतिनिधि तथा स्थानीय जनप्रतिनिधि र बर्दियाका संचारकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको बताए ।

बारबर्दिया र मधुवन नगरपालिकाका जनप्रतिनिधि, संरक्षणकर्मी, पीडित परिवारका सदस्य र संचारकर्मीहरुको उपस्थितिमा राहत स्वरुप चेक पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise