२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

ओली सरकारलाई दुईतिहाइ समर्थन

ADV
दिवाकर अधिकारी
२०८१ साउन ६ गते ०६:५०
ओली सरकारलाई दुईतिहाइ समर्थन

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ ।

एमालेले संसद्मा प्रतिनिधित्व गर्ने दलदेखि स्वतन्त्र सांसदहरुलाई समेत विश्वासको मत दिन आग्रह गरेको हो । सत्ता गठबन्धनको अर्को ठूलो दल नेपाली कांग्रेसले आजै संसदीय दलको बैठकबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दैछ ।प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । त्यसअघि दिउँसो १२ बजे बस्नेगरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।गत असार १७ गते कांग्रेस र एमालेबीच मिलेर नयाँ सरकार बनाउने समझदारी भएसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि असार २८ मा तत्कालीन प्रचण्डले पेस गरेको  विश्वासको मतको पक्षमा जम्मा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत परेको थियो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत ल्याउनुपर्छ । प्रचण्ड प्रधमानमन्त्रीबाट पदमुक्त भएपछि गत असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।प्रधानमन्त्री ओलीको पक्षमा अहिलेसम्म कांग्रेसका ८८, एमालेका ७७, जसपाका ७ जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४ र नागरिक उन्मुक्तिका ४ तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंह गरी १९२ सांसद छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी भने विपक्षमा छन् । माओवादी केन्द्रको ३२, रास्वपा २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र एकीकृत समाजवादीका १० तथा राष्ट्रिय जनमोर्चा र आमजनता पार्टी एक–एक गरी ७९ मत विपक्षमा हुने निश्चित भएको छ । एक सांसद रहेको नेमकिपाले भने अहिलेसम्म निर्णय गरेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise