२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

शितगंगा नगरभित्र पारदर्शिता कार्यसम्पादन सुधारका लागि रणनीति तयार हुँदै

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज १२ गते २०:१२
शितगंगा नगरभित्र पारदर्शिता कार्यसम्पादन सुधारका लागि रणनीति तयार हुँदै

अर्घाखाँची : शितगंगा नगरपालिकाले आफ्नो प्रशासनिक दक्षता, पारदर्शिता र जवाफदेहितामुखी कामकाजलाई सुदृढ पार्न बहुआयामिक सुधार रणनीति तयार गरेको छ । नगरपालिकाले विगत चार वर्षको कार्यसम्पादनको विश्लेषणसहित आगामी वर्षहरूमा पारदर्शी र परिणाममुखी सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न शाखा र मातहतका समितिहरूमा स्पष्ट जिम्मेवारी तोकेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिएका छन् । 

उनका अनुसार यो रणनीतिले स्थानीय विकासमा पारदर्शिता, औचित्य र मितव्ययितामुखी अभ्यासलाई संस्थागत गर्ने लक्ष्य लिएको छ । नगरपालिकाले विशेषगरी राजस्व र रोयल्टी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै गोरुसिंगे सडक, संघीय तथा प्रदेश सरकारका योजना, सिँचाइ, चुरे संरक्षण तथा भुण्टे डाँडामा क्रस भएको क्षेत्रमा लिनुपर्ने राजस्व सुदृढीकरणका लागि राजस्व परामर्श समिति गठन गरेको हो । योजना शाखा प्रमुख तथा सूचना अधिकारी नुमलाल खनालका अनुसार सो समिति निष्पक्ष र तथ्यमा आधारित प्रतिवेदन तयार गर्ने जिम्मेवारीमा खटिएको छ ।

नगरप्रमुख छबिलाल पौडेलले राजस्व संकलन प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभ्यास अनिवार्य बनाइने उल्लेख गर्दै भने, ‘अब नगरपालिका भित्र राजस्व संकलन प्रक्रिया पारदर्शी र जिम्मेवार बन्नेमा ढुक्क छौं ।’

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले कार्यालयभित्र पारदर्शिता र मितव्ययिताको अभ्यास गर्न प्रत्येक हप्तामा खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए । साथै, मासिक पत्रकार सम्मेलनमार्फत विषयगत शाखा र जनप्रतिनिधिहरूद्वारा भएको प्रगतिलाई विस्तारमा प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ ।

उनले थपे, ‘नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ पार्दै कर्मचारी इन्धन, खाजा, अन्य खर्च व्यवस्थित गर्ने, जिन्सी सामग्री अभिलेखिकरण प्रभावकारी बनाउने र सवारी साधन मर्मत खर्चको विवरण नियमित रूपमा कार्यपालिकामा पेस गर्ने व्यवस्था गरिएको छ ।’

सेवा प्रवाह सुधार र एकीकृत घुम्ती सेवा

नगरपालिकाले नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सबै शाखाको एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । यसअन्तर्गत वडा कार्यालयमा पुग्दा नागरिकले व्यवहारिक शिक्षा पाउने, आफ्ना सुझाव राख्ने र सुधारका अवसर पहिचान गर्ने व्यवस्था मिलाइने भएको छ ।

२०७९ देखि हालसम्म भएका सम्पूर्ण कार्यसम्पादनको प्रतिवेदन तयार पार्ने कार्यसमेत सुरु गरिएको छ । साथै, सवारी साधन तथा मेसिनरी व्यवस्थापनका लागि मूल्यसूची सार्वजनिक गर्ने निर्णय गरिएकाले वित्तीय पारदर्शितामा थप बलियोपन आउने जनप्रतिनिधिहरूको विश्वास छ ।

वित्तीय अनुशासन र स्थानीय आर्थिक विकास

आर्थिक विकास समितिले सहकारी संस्था र सामुदायिक वनको लेखापरीक्षण, उत्पादनमा आधारित अनुदान र चेलीबेटी सहकारीसँग सम्बन्धित विषयमा छलफल गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ । यसले वित्तीय अनुशासन र स्थानीय आर्थिक विकासमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

योजना शाखाले उपभोक्ता समिति गठन, तालिम, सम्झौता, कार्यान्वयन, अनुगमन र भुक्तानीसम्मको सम्पूर्ण कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नुमलाल खनालले जानकारी दिए ।

सुधारका लागि समिति गठन

सामाजिक प्लेटफर्ममार्फत आएका रोयल्टी, कर छुट र सहकारी अनुदानसम्बन्धी विषय अध्ययन गर्न प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको संयोजनमा समिति गठन गरिएको छ । उक्त समितिमा योजना शाखा प्रमुखसहित राजस्व, लेखा र प्रशासन शाखा प्रमुख सदस्य रहेका छन् । 

सापकोटाका अनुसार यी सुधारात्मक कदमहरूले शितगंगा नगरपालिकालाई ‘जवाफदेहितामुखी, पारदर्शी र परिणाममुखी संस्था’ बनाउन महत्वपूर्ण योगदान पुर्याउने छन् । स्थानीय स्तरमा पारदर्शिता, वित्तीय अनुशासन, दक्ष सेवा प्रवाह र योजना कार्यान्वयनमा सुधार ल्याउन यी रणनीतिहरू निर्णायक सावित हुने नगरपालिका कर्मचारी लक्ष्मण पौडेलले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise