अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले तिहारको समयमा नगर क्षेत्रमा प्लास्टिकका मालाको बिक्री र पटका (विष्फोटक पदार्थ) प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जनाएका अनुसार, वातावरणीय प्रदूषण रोकथाम र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि यो निर्णय लिइएको हो ।
नगरपालिकाका प्रशासकीय अधिकृत मुक्ति राम खनालका अनुसार स्थानीय फूल किसानलाई प्राथमिकता दिँदै स्थानीय फूलको उत्पादन र बिक्रीलाई बढावा दिन तथा प्लास्टिकजन्य फोहोर घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।
श्रेष्ठले भने, ‘तिहारमा प्लास्टिक माला प्रयोग बढ्ने र त्यसले वातावरणमा नकारात्मक असर पार्ने भएकाले नगरपालिकाले यस वर्षदेखि यसको प्रयोगमा रोक लगाएको छ । नगरवासी सबैले यस निर्णयको कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरिएको छ ।’
नगरपालिकाको निर्णय कार्यान्वयनका लागि सबै वडा कार्यालय, प्रहरी प्रशासन, र उद्योग वाणिज्य संघलाई निर्देशन दिइएको बताइएको छ ।
त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले यस कदमले नगर क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण घटाउने र वातावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउने विश्वास व्यक्त गरिन् । उनले थपिन्, ‘स्थानीय उत्पादन र फूल व्यवसायमा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।’
यसअघि अर्घाखाँचीकै शितगंगा नगरपालिकाले पनि स्थानीय फूलको प्रवद्र्धनका लागि प्लास्टिक माला बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको थियो, जसलाई यस वर्ष पनि निरन्तरता दिइने बताइएको छ । त्यसैगरी, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले समेत जिल्लाभित्र पटका आयात र प्रयोगमा प्रतिबन्ध जारी गरेको छ ।