अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीका दिपक पाण्डे, उनकी श्रीमती मानकुमारी पाण्डे र छोरा राजकुमार पाण्डे पेसाले निजामती कर्मचारी हुन् । तर उनीहरू जागिरे मात्र होइन, सफल कृषकका रूपमा पनि परिचित भएका छन् । उनीहरूले सिजनअनुसार विभिन्न खालका मौसमी र बेमौसमी तरकारी उत्पादन गर्नुका साथै टिमुर, चिउरी, तेजपत्ता, प्याज लगायतका बिरुवाको व्यावसायिक उत्पादन गर्दै आएका छन् । यसैमार्फत पाण्डे परिवारले वार्षिक छ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
विगत १० वर्षदेखि व्यावसायिक रूपमा बिरुवा उत्पादन गर्दै आएका उनीहरूको परिवार अहिले सन्धिखर्कमा राम्रो आम्दानी गर्ने किसानका रूपमा चिनिन्छ । सन्धिखर्क नगरपालिका–२ चुत्राबेँसी, पुलचोक, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक छेउमा रहेको घरनजिकै उनीहरूले प्लास्टिक टनेल निर्माण गरी करिब दुई रोपनी जग्गामा टिमुर, चिउरी, प्याज र मौसमी तरकारी खेती गरेका छन् । दिपक पाण्डेले बिहान अफिस जानुअघि र बेलुका फर्केपछि बिरुवा र तरकारीको हेरचाह गर्ने गरेको बताए ।
राजकुमार पाण्डेले बिरुवा उत्पादन गर्न धेरै समय नलाग्ने भएकाले बिहान–बेलुका नियमित रूपमा काम गर्ने गरेको बताए । ‘कम लगानीमा राम्रो आम्दानी हुने भएकाले बिहान र बेलुका यसै पेसामा रमाउँछौं,’उनकी आमा मानकुमारी पाण्डेले भनिन् । उनका अनुसार स्थानीय तथा बाहिरका व्यापारीले सिजनअनुसार बिरुवा खरिद गर्न आउने गर्छन् । यहाँबाट होलसेलमा बिरुवा वितरण गरिन्छ ।
दिपक पाण्डेले टिमुर, चिउरी, प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा लगायतका बिरुवाको बिक्री हुने जानकारी दिए । उनका अनुसार प्याज मुठ्ठीको ५० रुपैयाँ, काउलीको एउटा बिरुवा ५ रुपैयाँ, हाइब्रिड बन्दाको ५ रुपैयाँमा एकवटा, स्थानीय बन्दाको ५ रुपैयाँमा दुईवटा, ब्रोकाउलीको १० रुपैयाँमा एकवटा र टिमुर, तेजपत्ता, ढुपी सल्लो, फूलका बिरुवा ५० रुपैयाँमा बिक्री हुने गर्छ ।
‘हामी बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म नर्सरीमा काम गर्छौं । घरका तीनजना सरकारी कर्मचारी भए पनि बिहान–बेलुका सबैले खेतीमा सघाउँछौं,’ पाण्डेले भने ।
सामान्य १२ हात जग्गाबाट सुरु भएको उनीहरूको व्यवसाय अहिले सन्धिखर्कमा झन्डै एक रोपनी क्षेत्रमा फैलिएको छ । सुरुमा आफ्नै प्रयोगका लागि केही बिरुवा मात्र उत्पादन गर्ने परिवार अहिले व्यावसायिक रूपमा नर्सरी सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि बिरुवा र तरकारी बिक्रीबाट पाँचदेखि छ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यहाँ उत्पादित बिरुवा अर्घाखाँचीकै बजारमा बढी खपत हुने गर्छ । ग्राहकहरू गाडी लिएर सीधै नर्सरीमा बिरुवा खरिद गर्न पुग्ने गरेका छन् ।
‘हामीले तयारी बिरुवा र तरकारी राख्ने गर्छौं। ग्राहक फर्ममै आउँछन् र खरिद गरेर लैजान्छन्,’दिपकले खुशी हुँदै भने, ‘पहिले असम्भव लागेका काम पनि अब सम्भव भएका छन् ।’
सन्धिखर्क नगरपालिका–६ नरपानीमा दिपकले सुपा देउराली एग्रो फरेष्ट्री फर्म सञ्चालन गरेका छन् । उनले तरकारी खेतीको तुलनामा बिरुवा उत्पादनले छोटो समयमा बढी आम्दानी दिने भएकाले यसतर्फ बढी जोड दिएको बताए । पछिल्लो समय घरायसी प्रयोजनका लागि गाउँ–गाउँमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडा, टिमुर लगायतका बिरुवा लगाउने चलन बढेकाले बजारको माग पनि स्थिर रहेको उनले बताए ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बिरुवा उत्पादनमा किसानको आकर्षण बढेको छ । उनले ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई प्राविधिक सहयोग गरिने बताए ।
दिपक, मानकुमारी र राजकुमार डिभिजन वन कार्यालय अर्घाखाँचीका स्थायी कर्मचारी हुन् । उनीहरूको मेहनत र लगन देखेर अर्घाखाँचीबासी लोभिने गर्छन् । दिपक हाल सब–डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख तथा नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष समेत हुन् ।
अफिसको जिम्मेवारी पूरा गर्दै बिहान–बेलुका खेतबारीमा पसिना बगाउने पाण्डे परिवार साँच्चिकै कर्मचारीको कृषि क्रान्तिको उत्कृष्ट उदाहरण बनेको छ ।