२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

कविता : भ्रम

shivam cement
सत्यजीत
२०८२ कार्तिक १५ गते ०६:०५
कविता : भ्रम

हावा चल्दा पात हल्लिन्छ,
तर मान्छे सोच्दैन–
हल्लिएको कुरा पात हो कि विश्वास ?
धेरै जना आकाश हेरिरहेका छन्,
तर त्यो आकाश होइन,
उनीहरू आफ्नै स्वार्थको बादल गन्दै छन् ।
मन्दिरमा घण्टी बज्छ,
मस्जिदमा अजान गुन्जिन्छ,
चर्चमा येशुको नाम गाइन्छ,
विहारमा मन्त्र टपक्क झर्छ,
गुरुद्वारमा शब्द उठ्छ–
तर प्रश्न उस्तै रहन्छ,
सुनिरहेको को हो ?
ईश्वर, अल्लाह, येशु कि तिम्रो डर ?
भ्रमको जंगलमा
मान्छे हराइरहेको छ–
भक्तिको बुट्टा र अन्धविश्वासको काँडाबिच,
जहाँ विवेक चिच्याउँछ– म यही छु !
तर कसैले सुन्दैन,
किनकि कानमा मन्त्र 
र वचनका श्रृंखलाहरू बाँधिएका छन् ।
पानीमा अल्लाह खोज्नेहरू
तृष्णाले मर्दै छन्,
र आगोमा मुक्ति खोज्नेहरू
आफैँ खरानी बन्दै छन् ।
येशुको मुक्ति सम्झेर
अरूलाई निन्दा गर्नेहरू 
र शिवको नाममा
बली  दिनेहरू;
दुवै उही भ्रमका सन्तान हुन् ।
भ्रम यो होइन कि
ईश्वर छ वा छैन, भ्रम त यो हो;
मान्छेले आफैँलाई कहिल्यै चिनेको छैन ।
विज्ञानको उज्यालो भित्र पनि
पुरानो डर लुकिरहेको छ,
र दर्शनका पानामा पनि
नयाँ अन्धकार लेखिँदै छ ।
त्यसैले म भन्छु– यदि सत्य खोज्नै छ भने,
पहिले आफ्नै आँखाको पर्दा हटाऊ,
किनकि भ्रम बाहिर होइन,
भ्रम त तिमीभित्रै जन्मिएको देवता हो ।

ADV

सम्बन्धित खबर