२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

प्रादेशिक अस्पतालको सेवा प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक १८ गते २०:०२
Shares
प्रादेशिक अस्पतालको सेवा प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा राप्ती उपत्यका (देउखुरी) मा बोल्दै मुख्यमन्त्री आचार्यले भने, ‘प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ। जनशक्ति पर्याप्त छ, तर बिरामीहरूले सहज रूपमा सेवा पाउन सकेका छैनन् । रचनात्मक रूपमा सेवा दिन सकिन्छ ।’

उनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने योजना बनाउन निर्देशन दिएका छन् ।  मुख्यमन्त्रीले जिल्ला अस्पतालको सेवालाई प्रभावकारी बनाउनुपर्ने र बिरामी पुगेको ठाउँमै उपचार हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘जिल्ला अस्पतालमै उपचार गर्न सकिने केसमा पनि बिरामी अनावश्यक रूपमा रिफर गरिन्छ । यसले प्रादेशिक अस्पतालमा भीड बढाएको छ । सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ ।’

मुख्यमन्त्री आचार्यले स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै पोषण, मातृ तथा बाल मृत्युदर घटाउने अभियानमा प्रगति भइरहेको जानकारी दिए । उनले रोग लागेपछि होइन, लाग्न नदिन केन्द्रित जनचेतना अभिवृद्धि गर्नुपर्ने र आयुर्वेद तथा प्राकृतिक उपचारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता, मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता र स्वास्थ्य मन्त्री खेमबहादुर सारुको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, जनस्वास्थ्य प्रशासक उमेश गौतम, र स्वास्थ्य तथ्यांक अधिकृत मानबहादुर ओलीले स्वास्थ्य सेवा सुधार र कार्यक्रमको प्रस्तुति दिएका थिए ।

एक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै २०८१÷८२ मा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ५० शय्याको भालुवाङ अस्पताल सञ्चालनमा ल्याइए साथै नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पतालमा मिर्गौला डायलाइसिस सेवा विस्तार गरिएको छ । कपिलवस्तु र अर्घाखाँचीमा डायलाइसिस सेवा विस्तार अन्तिम चरणमा पुगेको छ ।

चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत ‘परिवार स्वास्थ्य विवरण’ कार्यक्रम सुरु गरिएको छ । प्रदेश लोकसेवा आयोगमार्फत पहिलोपटक विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गरिएको छ । आठ जिल्लाका १३ स्थानीय तहमा ‘रोभिङ्ग नर्स’ कार्यक्रम सञ्चालन गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा ‘विद्युतिय स्वास्थ्य अभिलेख’ प्रणाली लागू भएको छ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा ‘सूचना भण्डार सर्भर’ जडान गरी आकस्मिक व्यवस्थापनलाई थप सुदृढ बनाइएको छ ।

नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयन गरेको छ । यसैगरी, ‘लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१–२०८६’ पनि स्वीकृत भइ लागू गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर