
अर्घाखाँची : अर्घाखाँचीको पाणिनि गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्ने, बैंक खाता सञ्चालन गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिँदै सुरु गरेको छ । गाउँपालिकाका ८ वटै वडामा पुगेर योजना सम्झौता गर्नका लागि सुरु गरिएको कार्यअनुसार वडा नम्बर २ पोखराथोकमा योजनाहरूको सम्झौता, बैंक खाता खोल्ने र नागरिकलाई सेवा दिने काम सुरु गरिएको हो ।
वडा नम्बर २ को पोखराथोक बजारमा योजना सम्झौता भएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिए । उनका अनुसार यो अभियानअन्तर्गत क्रमशः वडा नम्बर १, ३, ४, ५, ६, ७ र ८ मा पनि योजना सम्झौता शिविर सञ्चालन गरिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवण खनालको नेतृत्वमा कर्मचारी, प्राविधिक र बैंकका कर्मचारीसहितको टोली योजना सम्झौताका लागि वडा नम्बर २ पोखराथोक पुगेको थियो ।
वडामै योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र पैसाको बचत भएको वडाध्यक्ष पौडेलले बताए । उनले भने, ‘पहिले गाउँपालिकाको केन्द्र दुर्गाफाँट पुग्न र सम्झौता गरेर घर फर्कनका लागि निकै समय लाग्थ्यो, तर वडामै सम्झौता गर्न पाउँदा समय र पैसाको दुवै बचत भएको छ ।’
योजना सम्झौता र बैंक खाता खोल्नका लागि उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूलाई गाउँपालिकाको कार्यालयसम्म जान आउन गाडी भाडा, खाना र खाजालगायतको खर्च व्यक्तिगत रूपमा व्यहोर्नुपर्ने हुन्थ्यो । तर अहिले गाउँमै गाउँपालिका र बैंकको टोली आएपछि नागरिकहरूमा खुशी छाएको छ । स्थानीय केशव गौतमले भने,‘अघिसम्म कागजात नमिलेपछि फर्किनुपर्ने, फेरि वडाबाट सिफारिस लिएर जानुपर्ने झन्झट थियो, अहिले वडाध्यक्षको पहलमा वडामै सम्झौता गर्दा धेरै सहज भएको छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवण खनालका अनुसार पोखराथोकमा चालु आर्थिक वर्षका लागि छनोट भएका योजनाहरू सम्झौता गरिएको छ । उनले भने, ‘सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीहरूलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्नका साथै कार्यान्वयनसम्बन्धी तालिम पनि दिइएको छ, जसले उपभोक्तामा सकारात्मक सन्देश गएको छ ।’
गाउँपालिकाले आठै वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिने योजना बनाएको खनालले बताए । उनका अनुसार वडामै सम्झौता र अभिमुखीकरण गर्दा बेरुजु नियन्त्रणमा आउने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्यूनीकरण हुने र उपभोक्ता समितिलाई सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पाणिनि गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले वडामै पुगेर योजना सम्झौता गर्ने निर्णय नागरिकमैत्री रहेको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थितिमा सम्झौता सम्पन्न गरिएको थियो ।