
नेपालगन्ज : नेपालगन्ज कनक्लेभका अवसरमा यस वर्ष फाइनप्रिन्ट फिभर पनि सँगै हुँदैछ । नेपालगन्ज डिस्कोर्षको पाँचौं श्रृंखला आउँदो ५ मंसिरमा हुँदैछ ।
कनक्लेभमा पुस्तक र साहित्यसम्बन्धी सेसनहरू फाइनप्रिन्ट फिभरमार्फत हुने नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए । उनका अनुसार अर्थ, सामाजिक र राजनीति सेसनहरूसँगै सिनेमा संवाद कनक्लेभका नियमित सेसनकै रुपमा सञ्चालन हुनेछन् ।
कनक्लेभमा वरिष्ठ अभिनेता राजेश हमालसँग पत्रकार पवन आचार्यले संवाद गर्नेछन् । हमालको यस वर्ष ‘युगदेखि युगसम्म’ पुस्तक प्रकाशित छ । त्यस्तै, 'जेनजी विद्रोहपछिको नेपाल : अन्यौल र अवसर', 'नेपालगन्ज : आर्थिक राजधानीको नारा र सम्भावना', 'डिजिटल युगको दोधार : प्रविधि वरदान कि अभिशाप' लगायतका सेसनहरू तय भएका छन् ।
कनक्लेभको अघिल्लो दिन ४ मंसिरमा पनि खेलकुद र खेल डकुमेन्ट्रीसहित सदभावको सहरबारे बहस हुनेछ भने भोलिपल्ट ६ मंसिर शनिafर ११औं धारा नेपालगन्ज म्याराथन हुनेछ । त्यस्तै, फाइनप्रिन्ट फिभरमा 'स्वस्पर्श' कृतिका लेखक डा. नवराज केसी, 'चमेलीको फूल बैजनी रुमाल' कृतिका लेखक सुबिन भट्टराई र 'ज्ञानिका' कृतिका लेखक ददि सापकोटा सहभागी हुँदैछन् ।
फाइनप्रिन्ट फिभर नारायणगढबाट सुरु भएर पोखरामा सम्पन्न भइसकेको छ । यही कात्तिक २९ मा सुर्खेतमा हुँदैछ । यसपछि नेपालगन्ज कनक्लेभसँगै फिभर हुन लागेको हो । अरु सहरमा पनि फिभर आयोजना गर्ने आयोजकको योजना छ ।
यसअघि फाइनप्रिन्ट फिभर २०७५ वैशाखमा धनगढी, नेपालगन्ज र सुर्खेतमा आयोजना गरिएको थियो । त्यसपछि पोखरामा २०७७ सालमा गरिएको फाइनप्रिन्ट फिभर त्यसपछि २०७७ सालमा नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा आयोजना गरिएको थियो ।