२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

यात्रा रोमाञ्चक, छलफल गहन

यस यात्रामा आफ्ना मोबाइल क्यामेरामा इच्छा मुताबिकका पोज र शैलीमा तस्बिर खिच्ने प्रतिस्पर्धा पनि उत्तिकै थियो हामीमाझ । करिब डेढ घण्टाको पैदल यात्रा (हाइकिङ)पश्चात् हामी ओरालो लाग्दै पुनः आफ्नै गन्तव्य स्थानमा फर्कियौं ।

shivam cement
विमल थापा
२०८२ कार्तिक २९ गते ०६:१०
Shares
यात्रा रोमाञ्चक, छलफल गहन

व्यस्त दैनिकी, काठमाडौंको कोलाहल अनि जिम्मेवारीलाई समायोजन गर्ने केही तौरतरिकामध्ये संघीय राजधानी काठमाडौंकै आसपासको केही उचाइमा रहेका रमणीय क्षेत्रको बसाइँले शारीरिक र मानसिक रूपमा समेत ‘इनर्जाइज’ गर्ने कुरामा दुईमत सायदै नहोला । 

त्यसै त सञ्चारकर्म सदैव क्रियाशील अनि समयसीमाको पावन्दीलाई समेत केही पर राखेर गरिने कर्म भएकाले पनि यो अवसर सञ्चारकर्मीहरूका निम्ति महत्वपूर्ण र अपरिहार्यजस्तै मान्न थालिएको छ पछिल्ला दिनहरूमा । 

हप्ताभरिको शारीरिक र मानसिक थकाइ मेटाउने उपयुक्त दिनका रूपमा नेपाली समाजमा विद्यमान रहेको शनिबारको दिन सदुपयोग गर्ने अभिप्रायले नेपाल पत्रकार मञ्चले संघीय राजधानीनजिकै रहेको रमणीय र पर्यटकीय क्षेत्र चन्द्रागिरी नगरपालिकास्थित नैकाप भिजेल रिसोर्टको दुईदिने (शुक्रबार साँझ पुग्ने शनिबार फर्कने) बसाइँको व्यवस्थापन गरेको थियो ।

काठमाडौंको कलंकीबाट झन्डै ५ किलोमिटरको दूरीमा रहेको सो रिसोर्ट आसपास पुग्दा काठमाडौंका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । कलंकीको स्युचाटारको मार्ग हुँदै उचाइमा चढ्दै गर्दा रिसोर्टनजिकै रहेको सेल्फी डाँडाबाट खुला आकाशसहित काठमाडौंको सहरी क्षेत्रको गुचमुच्च आधुनिक भवनलाई पृष्ठभूमिमा राखेर सेल्फी खिँच्दै गर्दा पछ्याइरहेका मित्र नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोही, पूर्वउपाध्यक्ष चन्द्रमणि भट्टराई, अग्रज पत्रकार राम पौडेल र नारायण आचार्यको आगमनले मलाई झनै रोमाञ्चित बनायो । 

केही सेल्फी खिँच्दै स्थानीय परिवेशको चियापान गर्ने तयारीमा हामी जटिरहेका थियौं । आ–आफ्ना रुचि र स्वादअनुसारको चिया अर्डर गरेर रमाइलो दृश्य अवलोकन गर्दै हामी एकअर्काका तस्बिर खिच्न व्यस्त थियौं । 

अग्रज पत्रकार एवं मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठ तथा प्रकाशक सीतादेवी श्रेष्ठ टुप्लुक्क आइपुग्नुभयो । उहाँहरूको उपस्थितिले हामीलाई झनै उत्साही बनायो अनि केही थान तस्बिर खिचेर हामी गन्तव्यतिर लाग्यौं । 

हामी पुग्नुअगावै हाम्रो समूहका अधिकांश साथी पुगिसकेका थिए । कार्यक्रमको मूल व्यवस्थापन गरेका नेपाल पत्रकार मञ्चका महासचिव राजु भण्डारीसहितका साथीहरूले हामीलाई औपचारिक रूपमा स्वागत गरे । रिसोर्ट व्यवस्थापनले हाम्रा निम्ति तयार गरेको स्वागतसहितको चिया तथा कफीपानको कार्यक्रमपश्चात हामी निर्धारित कार्यमा जुट्यौं ।

त्यसो त वरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले मिडिया हाउस कमजोर हुँदा समाचारमा पनि पक्षधरता आउने बताइरहँदा व्यावसायिक पत्रकारिताका निम्ति पार्टीगत पत्रकार संगठन आवश्यक नभएको बरु पेशागत पत्रकार महासंघलाई नै बलियो बनाउनुपर्ने तर्क गरे ।

मूलतः सञ्चारकर्ममा रहेका २० जना अग्रज पत्रकारलगायत केही समकालीन सञ्चारकर्मीहरूका निम्ति व्यवस्थापन गरिएको उक्त बसाइ केवल बसाइमा मात्र सीमित थिएन । सञ्चारकर्ममा निरन्तर क्रियाशील सञ्चारकर्मीहरूको जमघटमा केही व्यावसायिक मुद्दामा छलफल गर्ने अभीष्ट पनि हुने नै भयो । सोही मुताबिक छलफलको विषय ‘पक्षरहित पत्रकारिता’ छनोट गरियो अनि त्यसमाथि गहन छलफल सुरु गरियो । 

छलफलका क्रममा स्तम्भकार डा. भद्रा पराजुलीले पत्रकारिता समाजको ऐना भएकाले मर्यादित र विश्वसनीय पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउने बताइन् । उनले लोकतन्त्रमा दलहरूको विकल्प नभएको बताउँदै पत्रकारिताले दलहरूलाई सचेत गराउँदै उनीहरूको गतिविधिहरूको पहरेदारीको कामसमेत गर्नुपर्नेमा जोड दिइन् । 

त्यसो त वरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले मिडिया हाउस कमजोर हुँदा समाचारमा पनि पक्षधरता आउने बताइरहँदा व्यावसायिक पत्रकारिताका निम्ति पार्टीगत पत्रकार संगठन आवश्यक नभएको बरु पेशागत पत्रकार महासंघलाई नै बलियो बनाउनुपर्ने तर्क गरे । मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरूको संगठनमा समेत दलहरूको वर्चस्व भएकाले स्वतन्त्र पत्रकार नेतृत्वमा आउन चुनौती रहेको बताए । लोकतन्त्रमा पत्रकारले आस्था राख्न पाउने भए तापनि पत्रकारिता गर्दा उसले राजनीतिक आस्थालाई त्याग्नुपर्ने विद्रोहीको तर्क थियो ।  

कार्यक्रममा सहभागी पत्रकार राम पौडेल, चन्द्रमणि भट्टराई, शिरोमणि दवाडी, मनीषा अवस्थी, नारायण आचार्य, राजु भण्डारी, सानु लम्साल, लक्ष्मी भट्ट, सोमविक्रम सिंह, राजेन्द्र प्रजापतिलगायतले नेपाली पत्रकारितामा राजनीतिक दलहरूको प्रभाव न्यूनीकरणका निम्ति सुझाव प्रस्तुत गरे । छलफल कार्यक्रमको औपचारिक समापनपश्चात् रात्रिकालीन प्रहर सुरु भइसकेकाले खानपिनसहित केही रमाइला अनौपचारिक कार्यक्रम सुरु भए । कोही सांगीतिक प्रस्तुतीसहित नाचगानमा मस्त त, केही खानपिनमा व्यस्त । यो क्रम मध्यरातसम्म नै निरन्तर चलिरहेको थियो । 

भोलिपल्ट बिहान प्रभातकालीन अभिवादनसहित बिहानीको चिया/कफीको चुस्की लिएर वरिपरिका रमणीय दृश्यको अवलोकन गर्ने तयारीमा जुटियो । 

हामी भने हाम्रो गन्तव्यबाट झन्डै डेढ किलोमिटरको उचाइमा रहेको स्थानीय विन्दवासिनी भगवती मन्दिर दर्शन गर्न पैदल यात्रातर्फ लाग्यौं । बिहानीपखको स्वच्छ हावामा ‘मर्निङ वाक’को बाहनामा हामी स्थानीय विन्दवासिनी देवीको मन्दिरतर्फ लाग्यौं । उक्त मन्दिर परिसरमा फेंदीदेखि ‘मर्निङ वाक’ गर्दै आउनेहरूको बाक्लै उपस्थिति देखिन्थ्यो । हामी पनि सोही भीडसँग समाहित हुँदै मन्दिर परिसरसम्म पुग्यौं । 

यस यात्रामा आफ्ना मोबाइल क्यामेरामा इच्छा मुताबिकका पोज र शैलीमा तस्बिर खिच्ने प्रतिस्पर्धा पनि उत्तिकै थियो हामीमाझ । करिब डेढ घण्टाको पैदल यात्रा (हाइकिङ)पश्चात् हामी ओरालो लाग्दै पुनः आफ्नै गन्तव्य स्थानमा फर्कियौं । करिब ९ बजेको थियो, बिहानको खाना खाइवरी औपचारिक बिदा भएर हामी आ–आफ्ना गन्तव्यतर्फ हुइँकियौं । 

अत्यन्तै रोमाञ्चक र उपलब्धिमूलक यात्रा अनि बसाइको व्यवस्थापन गर्ने नेपाल पत्रकार मञ्च र रिसोर्ट परिवार धन्यवादका पात्र बनेका छन् ।

ADV

सम्बन्धित खबर