
सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका–१, सरस्वती बजारस्थित निर्माण गरिएको स्व. छत्रनारायण यादवको सालिक अनावरण तथा बलान बिहुल गाउँपालिकाको नयाँ भवन एक विशेष समारोहबीच उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा पूर्वकृषि मन्त्री मृगेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै, विशिष्ट अतिथिमा उमेश यादव तथा जसपा केन्द्रीय सदस्य डा. बबि सिंह यादव उपस्थित थिए । कार्यक्रमको सञ्चालन नसिब राईनले गरेका थिए भने गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले अध्यक्षता गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले स्व. छत्रनारायण यादवको जनताको पक्षमा निरन्तर संघर्ष गर्ने दीर्घ योगदान स्मरण गरे । उनले पञ्चायतीकालदेखि नै यादव जनहितका मुद्दामा सक्रिय नेता रहेको र बाढी–पीडितलाई बचाउन बलान नदी तटबन्ध क्षेत्रमा उनले गरेको महत्वपूर्ण योगदान प्रशंसनीय रहेको बताए ।
विशिष्ट अतिथि उमेश यादवले नयाँ भवन उद्घाटनप्रति खुशी व्यक्त गर्दै गाउँपालिकाले जनमुखी कामलाई अझ गति दिनुपर्ने आवश्यकता औंल्याए । उनले स्व. छत्रनारायण यादवको नाममा सञ्चालनमा आएको छत्रनारायण प्राविधिक शिक्षालयले गाउँमा सीप र शिक्षाको पहुँच बढाएको उल्लेख गरे ।
कार्यक्रममा बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको सूचना अधिकारी प्रकाश यादवले जानकारी दिए ।
