
अर्घाखाँची : शितगंगा नगरपालिका, अर्घाखाँचीले गाउँ–गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिका अन्तर्गत वडा नं. ६ (जुकेना) र वडा नं. ७ (जलुके) मा दोस्रो पटक सेवा सुरु भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार यो अभियान विशेषगरी ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई लक्षित गरी उनीहरूमाझ स्वास्थ्य जाँच, कृषि परामर्श र नगरपालिकाका कामबारे जानकारी पु¥याउने उद्देश्यले सञ्चालन गरिएको हो । सापकोटाले घुम्ती शिविरमार्फत नागरिकले प्रत्यक्ष रुपमा सेवा पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा योजना अधिकृत नुमलाल खनालले उपभोक्ता समितिलाई प्रशिक्षण दिँदै कानुनी आधार, दायित्व र कार्यक्षेत्रबारे जानकारी गराए । उनले पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय सामग्रीको प्रोत्साहन, सूचना सार्वजनिक गर्नु, सामानको गुणस्तर र तौल मापनको शुद्धता सुनिश्चित गर्नु, बैठक तथा खर्च विवरण नियमित राख्नु, सार्वजनिक सुनुवाइ र परीक्षण गर्नु उपभोक्ताको जिम्मेवारी रहेको बताए ।
यस्तै, आर्थिक व्यवस्थापनका विषयमा विल, भौचर, भुक्तानी प्रक्रिया र आन्तरिक अडिट सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो । कार्यक्रममा योजना शाखाका कम्प्युुटर सहायक लक्ष्मी भट्टराई र कर्मचारी भूमकला भुसाल सहजीकरणका लागि उपस्थित थिए ।
वडा नं. ६ का अध्यक्ष ऋषिबहादुर घर्ती र वडा नं. ७ का अध्यक्ष देविराम घिमिरेले नगरपालिकाको सेवाले आफ्ना वडाका नागरिकलाई सहज सेवा उपलब्ध गराएकोमा खुशी व्यक्त गरे ।
वडा ६ र ७ मा झन्डै १६ वटा योजनाहरु सम्झौता गरिएको थियो । ती योजना चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिइएको योजना अधिकृत खनालले बताए ।