वीरगञ्ज : पछिल्लो समय पर्सामा अवैध तस्करी, लागुऔषध कारोबार र अपराधजन्य घटना न्यूनीकरणमा उल्लेख्य सुधार आएको छ । प्रहरी उपरीक्षक कुमुद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेको ५ महिनायता अवैध तस्करी, लागुऔषध कारोबार र अपराधजन्य घटनामा कमी आएको महसुस गरिएको हो ।
सीमापारबाट हुने अवैध ओसारपसार तथा तस्करीमा कडाइ गर्दै प्रहरी उपरीक्षक ढुंगेल हाजिर भएयता सो कार्यालयले अवैधरुपमा भित्रिएका कपडा, मोटर पार्टस, खाद्यान्नलगायतका सामान नियन्त्रणमा लिएर करिब २३ करोडभन्दा बढी भन्सार तथा राजस्व दाखिला गर्न सफल भएको छ । प्रहरी उपरीक्षक ढुंगेल गएको फागुन २ गते सरुवा भएर ९ गतेबाट जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कार्यभार सम्भाल्दै आएका छन् ।
प्रमुख ढुंगेलले प्रहरीको सक्रियताकै कारण अवैधरूपमा भन्सार छली तथा चोरी पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारण बरामद हुने समान तथा रकम बढेको बताए । प्रहरीले चोरी, तस्करी गरेर भित्र्याएको सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने गरेको छ भने बिलबीजक अनुसार नभएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने गरेको छ ।
यस्तै ढुंगेलले कार्यभार सम्भालेयता भारतबाट नेपाल भित्र्याउन लागिएको करिब ३७ हजारभन्दा बढी कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्टसमेत गरिएको छ । भन्सार छलेर हुने चोरी तस्करी नियन्त्रणमा विशेष ध्यान दिएर चेकजाँच कडाइ गरिएको उपरीक्षक ढुंगेलले बताए ।
यस्तै वीरगञ्जलगायत आसपासमा रहेका केही होटलमा यौनजन्य क्रियाकलाप गराउने कार्य भइरहेको र ती होटलबाट अवैध क्रियाकलापमा संलग्न ४७ जना महिला र पुरुषलाई नियन्त्रणमा लिइ मुद्दा चलाइएको पनि पर्सा प्रहरीले जनाएको छ । यस्तै पर्सा प्रहरीले फैसला कार्यान्वयन गराउन विभिन्न समयमा अदालतबाट फैसला भएर फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरि अदालत बुझाउने कार्यलाई पनि तीव्रता दिएको छ । यो पाँच महिनाको समयमा पर्सा प्रहरीले ७ सय ६३ जना विभिन्न जयन्य तथा पुरानो मुद्धाका कसुरदारलाई पक्राउ गरी अदालतमा बुझाएको छ । यही समयमा प्रहरीले पर्साबाट २ नाल सानो हतियारसहित ३ जनालाई पक्राउ गरेको छ ।
हुन्डी कारोबारमा संलग्नबाट ५७ लाख बरामद
पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न १० जना कारोबारीबाट झण्डै ५८ लाख रुपैयाँ जफत गरेको छ । जसमा ७ जना पुरुष र १ जना महिला छन् भने २ जना विदेशी नागरिकलाईसमेत पक्राउ गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।
खुला सीमाका कारण भन्सार छली हुने तस्करीका साथै हुण्डि कारोबार तथा अन्य अपराधिक गतिविधिका जोखिम बढी हुने भएकाले विशेष सतर्कता अपनाएर प्रहरी परिचालन गरिएको उनले बताए ।
यस्तै पर्सा प्रहरीले यो पाँच महिनामा लागुऔषध कारोबारमा संलग्न १२७ जना नेपाली र १९ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । सबैभन्दा बढी ८७ केजी गाँजा बरामद भएकोमा चरेस २९ केजी, हेरोइन झण्डै ४ सय ग्राम, अफिम १५४ ग्राम बरामद भएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यस्तै फेनारगन २ हजार ९१४ पिस, डाइजापामा २ हजार ९११ पिस, नुर्फिन २ हजार ८७७ पिस, नाइट्रोभेट ट्याब्लेट ४ हजार ४११ पिस र कोरेक्स ३५९ बोत्तल बरामद गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ ।
आफूहरु समाजमा शान्ति तथा अमनचैन स्थापना गर्दै चोरी तस्करी नियन्त्रण गर्न अहोरात्र खटिरहेको भन्दै प्रहरी प्रमुख ढुंगेलले यसमा सबै नागरिकको साथ र सहयोगको आवश्यकता रहेको बताए ।