२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

अर्घाखाँचीका किसान सुन्तला खेतीमा आकर्षित

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ मंसिर २५ गते २१:४८
Shares
अर्घाखाँचीका किसान सुन्तला खेतीमा आकर्षित

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा परम्परागत खेती छोडेर स्थानीय किसान सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाका करिब ६ सय ६० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । सुन्तला खेतीबाट राम्रो आम्दानी हुँदै आएको किसानहरुले बताएका छन् । 

धान, गहुँ, कोदो र मकैभन्दा सुन्तलाबाट आम्दानी धेरै हुने भएपछि पछिल्ला वर्षहरूमा सुन्तला खेती गर्नेको संख्या उल्लेख्य रूपमा बढेको हो । गत वर्ष मात्रै किसानहरूले सुन्तला बिक्रीबाट १ करोड रुपैयाँभन्दा बढी कमाएका थिए । यस वर्ष पनि उत्पादन राम्रो भएकाले किसानहरू उत्साहित देखिएका छन् ।  

पाणिनी गाउँपालिकाका १ देखि ५ नम्बर वडामा सुन्तला खेती धेरै फैलिएको छ । पणेना, पोखराथोक, पटौटी र खिदिमका किसानहरूले व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै जीवनस्तरमा सुधार ल्याएको स्थानीय किसान रामु गौतमले बताए । पाणिनी–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेल पनि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बिहान–साँझ आफू सुन्तलाबारीमै व्यस्त रहने र दिउँसो कार्यालय जाने गरेको उनले बताए ।

व्यापारीहरू काठमाडौं, पोखरा, पाल्पा, बुटवल र चितवनबाट बोटमै आएर सुन्तला खरिद गर्ने गरेका छन् । उनका अनुसार सुन्तलाको मूल्य ठुलो सुन्तला प्रतिकिलो ७५ रुपैयाँ, मध्यम ६० रुपैयाँ र सानो ३० रुपैयाँ रहेको छ । पौडेलले हरेक वर्ष ८०–९० क्विन्टल सुन्तला बेच्ने र करिब ४ लाख रुपैयाँ आम्दानी हुने बताउँदै सुन्तला खेती स्थायी आयस्रोत बनेको उल्लेख गरे । 

पाखोबारीमा सुन्तला लगाएका किसानहरूका आम्दानी उल्लेख्य रूपमा बढेका उदाहरणहरू छन् । स्थानीय इन्सु मियाका अनुसार वर्षमा मुस्किलले केही मुरी गहुँ वा मकै फल्ने बारीबाट अहिले ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदै आएको छ । भौगोलिक बनावट र वातावरणीय अवस्था अनुकूल भएकाले पाणिनीमा सुन्तला खेती अत्यन्त सफल भएको किसानहरूको भनाइ छ ।

अध्यक्ष पौडेलका अनुसार पछिल्लो दशकमा गाउँपालिकाका अधिकांश घरपरिवारले सुन्तला खेती सुरु गरेका छन् । बाँझो जमिनमा समेत सुन्तलाका बिरुवा रोप्न थालिएकाले अहिले प्रायः कुनै जमिन खाली छैन । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार गाउँपालिकाका सातै वडामा सुन्तला खेती विस्तारका लागि बिरुवा वितरण, तालिम, कीरा व्यवस्थापन र बगैंचा सुधारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । बेमौसमी बिक्रीका लागि सुन्तला भण्डारण भवनसमेत निर्माण गरिएको छ ।

कृषि अभियानका अग्रणी कांग्रेस नेता तथा पूर्वअध्यक्ष अच्युत गौतमको नेतृत्वमा पाणिनी गाउँपालिकामा ‘सुन्तला गाउँ’ बनाउने अभियान सुरु गरिएको थियो । सुन्तला खेती विस्तारसँगै किसानहरूको जीवनस्तर सुधार भइरहेको र अन्य गाउँका किसान पनि यो व्यवसायतर्फ आकर्षित भइरहेका छन् । 

सम्बन्धित खबर