
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रदर्शक गर्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा युगदूत नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष ओलीले साहित्य खाली आत्म सन्तुष्टिका लागि मात्रै हुन नहुने बताए ।
साहित्य समाज, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको संगालो, भावनाहरूको गहिराइ, चिन्तनको उडाइहरू मिसिएको हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत समेत साहित्य भएकाले समेत स्मरण गराए ।
उनले भने, ‘साहित्यलाई गन्तव्यहिन साहित्य होइन, खाली आत्मासन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको संगालो, भावनाहरूको गहिराइ, चिन्तनको उडाइ यी सबै कुराहरू मिसिएको हुनुपर्दछ । यस्तो साहित्य जस्ले समाजको ऐनको मात्रै काम गर्दैन । त्यो भन्दा अझ अगाडि बढेर समाजको पथप्रर्दशक गर्दछ । चिन्तनले, विचारले समाजलाई बाटो देखाउने हो । विश्वका विभिन्न क्रान्तिका प्रेरकहरू साहित्यकारहरू, रचनाकारहरू, गीतकारहरू छन् । गजलकारहरू छन् ।’
अध्यक्ष ओलीले नेपाल साहित्यको पनि उर्वराभूमि रहेको दाबी समेत गरे ।